सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 24

च्याउको मस्यौरा र सिन्की बनाउँदै “च्याउ केशव”


विजयकुमार बौडेल – 
बैशाख १३ – विभिन्न प्रकारका च्याउ तथा परिकारको उत्पादन तथा प्रर्वधन गर्दै आउनुभएका तानसेन ८ का केशव कार्कीले च्याउकै मस्यौरा र सिन्की उत्पादन सुरु गर्नुभएको छ ।

कार्कीले च्याउको उत्पादन धेरै भएको र लकडाउनका कारण च्याउ विक्रि सहज रुपमा नभएका कारण च्याउको मस्यौरा र सिन्की उत्पादन सुरु गर्नुभएको हो । च्याउको विक्रि गर्न समस्या नभए पनी कोरोना भाईरस संक्रमणको जोखिमका कारण बाहिरका बजारमा खासै नपठाएको काकीृले बताउनुभयो ।

विभिन्न प्रकारका च्याउलाई फरक फरक स्थानमा फरक फरक तरिकाले परिक्षण गरि उत्पादन गर्न लागीपर्ने कार्कीलाई धेरैले “च्याउ केशव” भनेरै चिन्ने गर्दछन् । कहिले काठका मुढामा, कहिले परालमा त कहिले पोखरीको पानीमा डुवाएर उत्पादन परिक्षण गरिरहने कार्कीले अहिले च्याउको मस्यौरा र सिन्की उत्पादन परिक्षण गर्नुभएको छ ।

आमा लक्ष्मीकुमारी कार्कीको रचनात्मक आईडियाले च्याउको मस्यौरा र च्याउ उत्पादन गर्न लागेको कार्कीले बताउनुभयो । च्याउका विभिन्न परिकारहरु बनाएपनी अहिले सम्म मस्यौरा र सिन्की नबनाएको भन्दै परिक्षण उत्पादन गरेको र सुप बनाएर खाँदा निकै स्वादिलो भएको कार्कीले बताउनुभयो । घरको छतमा च्याउको मस्यौरा र सिन्की चलाउँदै सुकाउँदै गर्नुभएकी लक्ष्मीकुमारी कार्कीले पहिलो पटक गर्न सुरु गरिएको यो उत्पादनले सबैको मन जित्ने बताउनुभयो ।

अन्य कुराहरुको सिन्की र मस्यौरा भन्दा च्याउको बनाउँदा स्वास्थ्यलाई धेरै फाईदा हुने उहाँले बताउनुभयो । “हामीले घरमा बनाएर खाईसक्यौं, निकै स्वादिलो हुँदो रहेछ ।” कार्कीले भन्नुभयो । “स्वाद संगै च्याउको मस्यौरा र सिन्कीको सुपले शरिरमा फुर्ती र स्वच्छ मुटु बनाउन सहयोग पुर्याउँछ ।” विभिन्न प्रकारका च्याउ र यसका परिकार उत्पादन गरेर सबैलाई यसको महत्व बुझाउन छोरा लागेकोमा आमा लक्ष्मीकुमारी कार्कीलाई गर्व महसुस हुन्छ ।

 

आफ्नो जिवनमा धेरैखाले काम गरेको अनुभव भएपनी च्याउ र यसका परिकार प्रवर्धन गर्न थालेपछी सन्तुष्ट भएको काकीृको भनाई छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछी उत्पादित च्याउको मस्यौरा र सिन्की बनाउन सुरु गरेको कार्कीले बताउनुभयो ।

भैरव दर्शन च्याउ उद्योग सञ्चालन गर्दै आउनुभएका कार्कीले लकडाउनभरी उत्पादन गरेर राख्ने र त्यसलगत्तै बजारमा च्याउको मस्यौरा र सिन्की पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्यद्वारा अनुगमनः मापदण्ड पालना भएन स्थानीय सरकार

मिलन बिक
पाल्पा । पाल्पाका स्थानीय तहहरुले कोरोना महामारीको बन्दाबन्दीमा बितरण गरेको राहत, क्वारेण्टाइन र स्वास्थ्य अवस्थाका बारेमा प्रदेशसभा सदस्यहरुले अनुगमन गरेका छन् ।

पाल्पाबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा पर्ने स्थानीय तहमा पुगेर अनुगमन गरेका हुन् । जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा गरिएको अनुगमनमा दुई वटा टोली रहेका छन् । अनुगमनका क्रममा कतिपय स्थानीय तहमा राहत वितरणको मापदण्ड र प्रक्रिया पालना नभएको पाइएको छ । राहत वितरणले समाजमा तिक्ततासमेत निम्ताएको पाल्पाका कतिपय गाउँपालिका अध्यक्षको गुनासो छ । कुनै गाउँपालिकाले धेरै वितरण गर्ने र कुनैले कम वितरण गर्दा सीमाना जोडिएका पालिकाका जनताहरूबीच असन्तुष्टी बढेको छ । महामारीको सुरूवाती चरण भएकोले पहिलो चरणमा हातमुख नै जोड्न समस्या भएको अतिविपन्न परिवारलाई राहत वितरण गर्नुपर्ने रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । ‘पछिल्ला दिनमा महामारीले कस्तो रूप लिने हो’ उहाँले भन्नुभयो, ‘भावना र राजनीतिक स्वार्थमा डुवेर संकलन भएका सबै राहत एकैपटक सकाएर बस्नु राम्रो होइन् ।’

आन्तरिक आम्दानीको श्रोत नभएकोले यहाँ तडकभडक तरिकाले राहत वितरण गर्न नसकिएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । जिल्लाका अन्य केही पालिकाले धेरै राहत वितरण गरेको भन्दै यहाँका नागरिकले आफसँग आक्रोश पोख्ने गरेको कार्कीले सुनाउनुभयो । एउटै जिल्लामा फरकफरक परिमाणमा वितरण गरिएको राहतले जनतामा निरासा ल्याएको प्रदेशसभा सदस्यहरुको ठम्याइ छ । जुन दिनदेखि राहत वितरण गरियो, त्यो दिन रातह वितरण गर्ने बेला भइ नसकेको प्रदेश नम्बर ५ का संसद तुलाराम घर्तिमगरले बताउनुभयो । ‘दिनभरी ज्याला मजदुरी गरेर खाने केही परिवारमा समस्या थियो’ उहाँले भन्नुभयो ‘प्रक्रियागत ढंगले पहिलो, दोस्रो चरण गरेर क्रमशः राहत पाउने परिवारको संख्या किटान गर्नुपथ्र्यो ।’

स्थानीय सरकारका प्रतिनिधि यतिबेला लचिलो र बढी सरल हुने बेला नभएको अर्का संसद बीरबहादुर रानाले बताउनुभयो । ‘योभन्दा अझै जटिल परिस्थिति आउनसक्छ’ उहाँले भन्नुभयो, ‘राहतमा एकरूपता ल्याएर परिवारको तत्कालिन अवस्था हेरेर मात्र राहत वितरण गर्नुपर्छ ।’ जनतालाई आवश्यक नै नपर्ने क्वारेण्टाइन निर्माण गरेर सरकारले अनावश्यक खर्च गरेको अर्का प्रदेश संसद डा. पुरनमान बज्राचार्यले बताउनुभयो । अहिले विदेशबाट घरमा आएका युवालाई होम क्वारेण्टाइनमा राखेर आयमूलक कार्यमा लगाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश ५ सरकारले पाल्पाका २ वटा नगरपालिकालाई १५ लाखका दरले र ८ वटा गाउँपालिकालाई १० लाख दरले बजेट उपलब्ध गराएको छ । यो बजेट राहत वितरण र क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्ने अधिकार स्थानीय तहले पाएको जिल्ला समन्वय समिति पाल्पाका कार्यवहाक प्रमुख मिरा मरासिनीले बताउनुभयो ।

पाल्पाबाट सहभागी प्रदेश संसदले जिल्लाका सबै स्थानीय तहमा राहत वितरण र क्वारेण्टाइनको अवस्थाबारे प्रत्यक्ष अनुमगन गरेर जानकारी लिएको जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताउनुभयो । संसदीय टोलीसँग स्वास्थ्य शाखा प्रमुखले आफुहरूलाई स्वास्थ्य कवज प्रयाप्त नभएको गुनासो गरेका छन् ।

भगवती जात्रामा विदा, स्वागतमा पाल्पामा दीपावली

तानसेन । पाल्पाको भगवती जात्रालाई प्रदेश सरकारले राष्ट्रिय महत्व दिएर त्यसदिन पाल्पामा विदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले भगवती जात्रालाई महत्व दिएर पाल्पा जिल्लामा विदा दिने निर्णय गरेको हो । नेपाल अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको उपलक्ष्यमा विजयोत्सवको रुपमा मनाइने भएकाले भगवती जात्रालाई जिल्लामा विदा दिने निर्णय गरिएको मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभयो । रणउजेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको निर्णयको स्वागतमा आज साँझ मन्दिरमा दीपावली गर्ने निर्णय गरेको अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले भगवती जात्राको ऐतिहासिक पक्षलाई महत्व दिएर प्रदेश सरकारले गरेको विदा दिने निर्णयको स्वागत गर्नुभयो । राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षार्थ नेपालीहरुले प्रदर्शन गरेको त्यो नेपाल अंग्रेज युद्ध र विजय हासिल गरेपछि मनाउन थालिएको भगवती जात्रालाई राष्ट्रिय विदा नै घोषणा गर्नुपर्ने नगरपालिका प्रमुख शाहीको भनाई रहेको छ ।

जिल्ला समन्वय समिति पाल्पाका कार्यवहाक प्रमुख मिरा मरासिनीले भगवती जात्राको दिन विदा दिने निर्णयले सिंगो पाल्पालीलाई खुशी बनाएको बताउनुभयो । नेपालको राष्ट्रियतासँग जोडिएको विजयोत्सवका दिन देशका प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्री सहभागी हुनुहोस् भन्ने माग हाम्रो रहेको छ, कार्यवहाक प्रमुख मरासिनीले भन्नुभयो । इतिहासविद् निर्मल श्रेष्ठले राम्रो कामको थालनी भएको र यो विजययात्रालाई पाल्पाको मात्र नभएर राष्ट्रिय गौरवकै रुपमा मनाइनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल अंग्रेज युद्ध र विजययात्रा नेपालको राष्ट्रिय अखण्डतासँग पनि जोडिएको छ ।’

दुई शताब्दीअघि, बलिया राष्ट्रले कमजोर राष्ट्रलाई मिच्ने जुन प्रवृति थियो आज पनि उस्तै छ। राष्ट्रलाई जोगाउन राष्ट्रिय भावना बोकेका मनहरू नभएका होइनन्। अब शतरंजका खेलाडीझैं सजक र सतर्क हुनु पर्ने बेला आएको छ। कर्णेल उजीरसिंह थापाको दलमुखी आँट, काजी वीरभञ्जन पाण्डेको सुझबुझ अनि सरदार सूर्य थापा, अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमादार भिमसेन देउजा, जमदार सुरवीर बोहोरा, हवल्दार रणसुर बानिया एवं जुठे बस्नेत लगायत पाँच सय नेपालीको रगत पसिनाले सिँचिएको गौरवमय इतिहास बोकेको श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको सदा चम्किरहने गजुरले राष्ट्रियतालाई खबरदारी गर्दै आएको  छ।

नेपाल अंग्रेज युद्धमा नेपालीले विजय गरेपछि करिव दुई शताब्दीदेखि मनाइदै आएको भगवती जात्रालाई राष्ट्रिय महत्व दिएर देशभर नै विदा दिनुपर्ने माग पाल्पाली राख्दै आएका छन् । प्रदेश सरकारले २०७७ सालमा ६ दिन दिने विदामा पाल्पाको भगवती जात्रालाई समेटेको छ । माघी दुई दिन, वकर इद र प्रदेश स्थापना दिवस १\१ दिने प्रदेशभरी विदान दिने निर्णय गरिएको छ । भूमे पूजा रुकुम र रोल्पा, बडकवा अतवारी थारु समुदायलाई र भगवती जात्रा पाल्पा जिल्लामा विदा दिने निर्णय गरिएको भाैतिक पूर्वाधार मन्त्री तथा प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो । यसैगरी प्रदेशले तराईका जिल्लालाई ८ लाख र पहाडी जिल्लालाई ५ लाख रुपैँया जिल्ला विपद व्यवस्थापन समितिलाई दिने निर्णय गरेको छ ।

स्थानीय सरकारका उदाहरणीय काम

कोरोना सङ्क्रमणको जोखिम बढेपछि सरकारले लकडाउन गर्यो । लकडाउन भएको एक महिनासम्म आमनागरिक घरभित्र छन् । सङ्क्रमणविरुद्धको लडाइँमा सरकार, नागरिक, सङ्घसंस्था र जनप्रतिनिधिहरु एक भएर लडिरहेका छन् । एक महिनामा स्थानीय सरकारहरुले क्वरेन्टीन व्यवस्थापन, विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन र विपन्न वर्गलाई राहत वितरणजस्ता काम गरिरहेका छन् । पाल्पा र यस वरपरका केही स्थानीय सरकारले उदाहरणीय काम गरेका छन् । स्थानीय सरकारकाे यस्ता रचनात्मक कामले चाैतर्फी प्रशंसा पाइरहेका छन् ।

तानसेनमा दूरशिक्षा र कृषि एम्बुलेन्स

तानसेन नगरपालिकाले पनि एसइई दिने विद्यार्थीलाई दूरशिक्षा रेडियाे कार्यक्रम एसइई पाठशाला सञ्चालन गर्न सहयोग गरेको छ । नगरपालिकाको सहयोगमा रेडियो मदनपोखराले दूरशिक्षा पाठशाला सञ्चालन गर्दै आएको छ । पाठशालामा हरेक दिन ६ वटा विषयमा रेडियाेबाट लाइभ प्रसारण भइरहेकाे छ । याे कार्यक्रम पाल्पासहित नेपालका ३० भन्दा धेरै रेडियाेले लाइभ प्रसारण गरिरहेका छन् ।

तानसेनकै सहकार्यमा युनिक एफएमले पनि कक्षा ११ र १२ लाई ट्युसन अन एयर गरी पठनपाठन गरेकाे छ । याे कार्यक्रममा दैनिक ४ वटा विषयमा अध्यापन भइरहेकाे छ ।

तानसेन बजारमा कृषि एम्बुलेन्स सेवा सुरु भएको छ । नगरपालिकाले किसानसँग तरकारी खरिद गर्छ । कृषि एम्बुलेन्स घरघरै पठाएर खरिद मूल्यमा  ताजा तरकारी उपभोक्तालाई दिएकाे छ । तरकारी बिक्रीको लागि कृषि एम्बुलेन्सकाे इन्धन र तरकारी प्याक गर्ने प्लाष्टिक नगरपालिकाले अनुदान दिएकाे छ । नगरपालिकाकाे याे रचनात्मक काममा नगरपालिकाकाे युवा परिषद सक्रिय भएकाे छ । परिषदका पदाधिकारीहरू तरकारी किन्ने, बजारमा बिक्री गर्ने काममा स्वयमसेवा गरिरहेका छन् ।

मदनपाेखरामा उत्पादित तरकारी दैनिक ८ गाडीसम्म तानसेन बजारमा बिक्री भएकाे छ । तानसेन युवा परिषदका अध्यक्ष गुँराश आत्रेयले सस्तो र ताजा तरकारी घरमै पाउन थालेपछि उपभोक्तालाई सहज भएको बताउनुभयाे । तरकारी बिक्री नहुँदा खेतबारीमै कुहिने चिन्ता थियाे, किसानलाई अहिले त्याे समस्या छैन मदनपाेखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खेमराज न्याैपानले भन्नुभयाे ।  तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले किसान र उपभाेक्ताकाे हितमा सञ्चालन गरिएकाे कृषि एम्बुलेन्स सेवा प्रभावकारी बनेकाे बताउनुभयाे । कृषि एम्बुलेन्सको सुरुवात बगनासकाली गाउँपालिकाले पनि गरेकाे छ ।

धुर्कोटले बाँझो खेतबारी खन्नेलाई अनुदान दिने

धुर्काेटका गाउँगाउँमा अहिले चहलपहल छ । कामका लागि भारत र अरु देश पुगेका युवाहरु फर्किएका छन् । कोराेनाकाे संक्रमणबाट जाेगिन गाउँ फर्किएका युवालाई गुल्मीको धुर्कोट गाउँपालिकाले बाँझो जमिन किसानलाई अनुदान दिने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण अर्को वर्ष खाद्यान्न अभाव हुन सक्ने भन्दै गाउँपालिकाले बाँझो जमिन किसानहरुलाई अनुदान दिने निर्णय गरेको हो । कार्यपालिकाको बैठकले खाद्यान्न उत्पादन गर्न चाहने किसानलाई बाँझो खेत प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो ।

दुई वर्षदेखि बाँझो रहेको जमिनमा कागती, सुन्तला र फलफुल रोपेमा प्रतिरोपनी तीन हजार रुपैयाँ, अन्नबाली, तरकारी र मसलेदार खेती गरेमा प्रतिरोपनी चार हजार र आफ्नो बारी नहुनेले लिजमा लिएर तरकारी र फलफुल खेती गरेमा प्रतिरोपनी पाँच हजार रुपैयाँका दरले अनुदान रकम दिने निर्णय भएको छ । यो निर्णयपछि खाद्यान्न, तरकारी तथा फलफूल खेती गर्ने किसानसमेत उत्साहित भएका छन् । खेतीयोग्य जमिन बाँझो राखेमा भने भूमि कर बढाउने गाउँपालिकाले जनाएको छ ।

तिलोत्तमाका तीन काम 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खाद्य राहत बैंक र एसईई दिने विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन र किसानले उत्पादन गरेको अन्नबालीको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गर्दै कार्यान्वयन समेत गरेको छ । घरमै बसी विभिन्न माध्यमको प्रयोग गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सकिन्छ भन्ने उदाहरण समेत नगरपालिकाले प्रस्तुत गरेको छ ।

नगरपालिकाले एसईईको तयारीमा रहेका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गरेको छ । विषयविज्ञ शिक्षक छनोट गरी हरेक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइनबाट कक्षा सञ्चालन भइरहेको नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताउनुभयो । लकडाउनको सदुपयोग गर्दै अनलाइन माध्यमबाट परीक्षा केन्द्रित कार्यक्रम सुरु भएपछि विद्यार्थी समेत उत्साहित भएका उहाँको भनाइ छ ।

त्यस्तै नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बिक्री नभए बेचिदिने भएको छ । गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँ तोकेको नगरप्रमुख घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाले किसानलाई चालु आर्थिक वर्षमा १ सय ३६ मेट्रिक टन गहुँको बीउ ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो ।

 

सञ्चारगृहलाई पत्रकारको सुरक्षामा ध्यान दिन प्रेस संगठन पाल्पाको अनुरोध


विजयकुमार बौडेल – 
वैशाख ७ – संगठन प्रेस संगठन नेपाल, पाल्पा शाखाले पत्रकारहरुलाई सकेसम्म एकान्तवास बाटै दैनिक कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन संचारगृह व्यवस्थापकहरुलाई अनुरोध छ ।

संगठनले प्रेस विज्ञप्ती जारी गर्दै विपद्का बेला निरन्तर सूचना दिन अनवरत रुपमा खट्ने पत्रकार तथा संचारकर्मीलाई आफु सुरक्षित रहदै सम्बन्धित संस्थाले सुरक्षामा ध्यान दिन अनुरोध गरेको हो । पनी जिम्मेवारी पुरा गर्न आग्रह गरेको हो ।

विज्ञप्तीमा कार्यस्थलमा खट्नैपर्ने संचारकर्मी तथा पत्रकारहरुको सुरक्षाका लागि आवश्यक पिपिइ सेट, मास्क, सेनिटाइजर र ग्लोब्स जस्ता अत्यावश्यक सामग्रीहरुको सहज उपलव्धता गराई उनीहरुलाई कोरोना भाइरस संक्रमणवाट सुरक्षित हुने वातावरण निर्माणमा सम्बन्धित संचार गृहलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।

विज्ञप्तीमा “विश्वव्यापी कोरोना महामारीको जोखिमपुर्ण अवस्थामा समेत विचलित नभई नियमित रुपमा नागरिकलाई सूचना प्रवाह गरिरहेका पत्रकार तथा संचारकर्मीहरुलाई धन्यवाद दिन चाहन्छ । यसका साथै अग्रपंतिमा रहेर सेवा गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैमा आभार व्यक्त गर्दछ ।” भनिएको छ ।

प्रेस संगठनका जिल्ला संयोजक राजेन्द्र लिगलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा एक अर्काविच सामाजिक दुरी कायम गर्दै नागरिकको सामाजिक दायित्व र जिम्मेवारी पुरा गर्नका लागि सबैलाई अनुरोध गरिएको छ । संगठनले संक्रमणबाट बच्न नेपाल सरकारले अपनाएको लकडाउनवाट दैनिक गुजारा चलाउन समस्या परेको गरिव, श्रमिक र जोखिम समूहका वर्गलाई उचित राहतको व्यवस्था गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तीमा सहज खाद्यान्न आपूर्ति गर्न, गन्तव्यमा पुग्न नसकी सडकमा अलपत्र परेका नागरिकलाई सुरक्षित घरसम्म पु¥याउने सहज वातावरण सिर्जना गर्न, उच्च मनोवलका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराईएको छ ।

महामारीका रुपमा भाईरस संक्रमणको अवस्थालाई समयमै रोक्न सम्भाव्य व्यक्तिहरुको पहिचान र स्वास्थ्य परीक्षण दु्रतगतिमा गर्ने व्यवस्था मिलाउन संगठनले विज्ञप्तीमार्फत माग गरेको छ ।

लकडाउन रचनात्मक सोंच : तानसेन यूवा परिषदको घरघरमै तरकारी अभियान


विजयकुमार बौडेल – 
वैसाख ७ – लकडाउनको कारणले तरकारी अभाव भएको बेला तानसेन नगर यूवा परिषदले तानसेनका घरघरमै सस्तो मुल्यमा किन्न पाउने कृषी एम्बुलेन्सको व्यवस्थापन गरेको छ ।

लकडाउनको कारणले किसानलाई बेच्न असहज र नागरिकले तरकारी किन्न नपाएको अवस्थामा तानसेन युवा परिषदले घरघरमै किन्न पाउने गरि कृषी एम्बुलेन्सको व्यवस्थापन गरेको हो । मदनपोखरा संगम बहुउद्देश्यिय कृषी सहकारी संस्था संग समन्वय गरि किसानका तरकारी खरिद गरि तानसेनका घरघरमै विक्रि गर्ने व्यवस्थापन गरेको हो ।

प्रदेशसभा सदस्य नारायण आचार्यले ५ केजी तरकारी किनेर र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले विक्रि गरेको पैसा बुझिदिएर कृषी एम्बुलेन्सको सुरुवात गरिएको थियो ।


काउली प्रति केजी २०, बन्दा प्रति केजी १० र काक्रो प्रति केजी ३५ रुपैंयाको दरले सहुलियतमा विक्री गरिएको तानसेन युवा परिषदका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो । आत्रेयले पहिलो दिन भएकाले नागरिकहरु आफै सामाजिक दुरी कायम गरि टुँडिखेलमा जम्मा भएर तरकारीको माग गरेकाले त्यहीँबाट विक्रि गरेको र अवदेखी घरघरमै किन्ने व्यवस्था मिलाईने बताउनुभयो ।
पाल्पामा बाहिरी जिल्लाबाट तरकारी ल्याउन पुर्ण रुपमा प्रतिवन्ध लगाईएको छ ।

मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष खेमराज न्यौपानेले किसानका उत्पादन यसरी घरघरमै लगेर बेच्न सहयोग पुयाएकोमा युवा परिषदलाई धन्यवाद व्यक्त गनुभयो । तरकारी विक्रिको पहिलो दिन २४ टन विक्री भएको सहकारीले जनाएको छ । आवश्यकता अनुसार तरकारी जती पनी पुर्ती गर्न सकिने भएकाले एकै ठाउँमा भेला भई नबसीदिनुहुन तानसेनबासीलाई परिषदले आग्रह गरेको छ ।

सस्तो लोकप्रियता : लकडाउनमा यात्रा गर्न प्रोत्साहित गर्नेहरुको होडबाजी


विजयकुमार बौडेल – 
वैशाख ५ – पाल्पाका विभिन्न स्थानिय तह, व्यक्ति तथा संघसंस्थाहरुले नै लकडाउनको अवज्ञा गर्दै मानिसलाई हिँडडुल गर्न प्रोत्साहित गरिरहेका छन् ।

पाल्पाका विभिन्न स्थानिय तह र जनप्रतिनिधीहरु सहित व्यक्ति र संघसंस्थाहरुले नै बाटोमा हिँडेका यात्रुहरुलाई खानेकुरा र पानी बाँड्दै हिँड्न प्रोत्साहित गरिरहेका छन् । सरकारले जो जहाँ छ, त्यहीँ बस्ने र कोरोना संक्रमणको जोखिम कम गर्ने भन्दै लकडाउन लागु गरेको हो तर स्थानिय तहका जनप्रतिनिधि लगाएत विभिन्न व्यक्ति तथा संघसंस्थाहरु नै चाउचाउ, बिस्कुट र पानी बाँड्दै मानिसलाई आवतजावतको व्यवस्थापनमा जुटेका छन् ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बुटवल हुँदै पाल्पाको बाटो प्रयोग गरेपनी स्थानिय तहले हिँडडुल गर्न प्रोत्साहित नगरेको बताउनुभयो । “बाटोमा हिँडेर आएकाहरुको दुख देखेर केही व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरेको भएपनी नगरपालिकाले यही बसोबास गर्ने मजुर तथा विपन्न परिवारलाई बाहेक अरुलाई खाद्यान्न सहयोग गरेको छैन ।”

प्रमुख शाहीले भन्नुभयो । “हामीले बाटोमा हिँड्नेहरुले दुख पाएको भए जती जना भएपनी यहीँ क्वारेन्टाईनमा राख्ने, खुवाउने बसाल्ने व्यवस्थापन गर्न सक्छौं । विपद्को बेला आवतजावत गर्नुपर्छ भन्ने पक्षमा छैनौं ।”

प्रमुख साहीले आधिकारीक रुपमा नगरपालिकालाई जानकारी नदिई कोही कसैले पनी केही वितरण नगर्न अनुरोध गर्नुभयो । बाटोमा गरिएका विभिन्न व्यवस्थापनहरुले यात्रा गर्ने व्यक्तिहरुलाई थप हौसला मिलिरहेको छ । स्थानिय तहहरुले योजना बनाएर यात्रुहरुलाई हिँडडुल गर्न राक लगाई उनीहरुलाई व्यवस्थापन गर्ने विषयमा कमजोर देखिएका छन् ।

राजमार्गका धेरैजसो स्थानमा व्यक्ति तथा संघसंस्थाहरुले क्याम्प स्थापना गरेरै बाटोमा हिँड्ने यात्रुहरुलाई खान, खाजा, पानीलगाएतका खाद्यान्न वितरण गरेका छन् । यसले बाटोमा हिँड्ने यात्रुहरुलाई हिँड्न थप प्रोत्साहन मिल्ने र कोरोना संक्रमण जोखिम बढ्ने सरोकारवालाहरु बताउँछन् ।

प्रदेश ५ सरकारले बाटोमा यात्रा नगर्न र प्रदेश ५ क्षेत्रभित्र जुनसुकै क्षेत्रबाट आएकाहरुलाई त्यहीँको स्थानिय तहको क्वारेन्टाईनमा व्यवस्थापन गर्न स्थानिय तहहरुलाई अनुरोध गरेको छ । तर स्थानिय तह र जनप्रतिनिधिहरु भने सस्तो लोकप्रियताका लागी चाउचाउ र पानी बाँड्ने, सम्बन्धित स्थान सम्म पुग्न सहजिकरण गर्न लागीपरेका छन् ।

यसै समयमा प्रशासनले पनी लकडाउनको नियम लागु गर्ने क्रममा नागरिकहरुको हिँडडुललाई सामान्य ठानेर पक्राउ र कारबाही प्रक्रिया अघि बढाएको छैन । कोरोना भाईरस मानिसबाट अत्यन्तै छिटो सर्ने भएपनी प्रशासनले मानिसको आवतजावतलाई वेवास्ता र यातायातका साधन रोकलाई बढी कडाई गरेको छ ।

लकडाउनमा मजदुर तथा दैनिक ज्यालादारी गरेर खानेहरुलाई अप्ठेरो परेर घर जानुपर्ने बाध्यता छ । यो बेलामा स्थानिय तहहरुले सही रुपमा व्यवस्थापन गर्न सकिरहेका छैनन् । उनीहरुलाई जहाँ छन्, त्यहीँ खान र बस्नको व्यवस्थापन गर्न स्थानिय तहहरु गम्भिर नभए गरेर कोरोना संक्रमणको जोखिम कम गर्न गरेका अन्य कामहरु व्यर्थ जाने पक्का छ ।

पाल्पामा गाईले धकेलेर भिरबाट खस्दा एकको मृत्यू


विजयकुमार बौडेल – 
वैशाख ५ – पाल्पामा गाईले धकेलेर भिरबाट खस्दा एकको ज्यान गएको छ ।

रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ गोहारठानाका ५० बर्षिय चन्द्र बहादुर रानालाई गाईले धकेल्दा भिरबाट खस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दिउँसोको समयमा गाईवस्तु चराउन गएका बेला गाईले धकेल्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

गाईले धकेल्दा बाटोबाट अन्दाजी १० मिटर तल खसी घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

पाल्पामा रुखले च्याँपेर एकको मृत्यू


विजयकुमार बौडेल – 
बैशाख ४ – पाल्पामा रुखले च्याँपेर एक जनाको ज्यान गएको छ ।

तिनाउँ गाउँपालिका वडा नं. १ स्थित ठुलिउदानको मसिना सामुदायिक वनमा रुख काट्ने क्रममा ओम बहादुर घर्तीको ज्यान गएको हो । सामुदायिक वनमा रुख काट्न गएका ३४ बर्षिय घर्तीको सोही रुखले च्याँपेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

घर्तीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहर निरिक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

रिब्दीकोटका कार्यपालिका सदस्यहरुको दश वटा बैठक भत्ता विपद कोषमा


विजयकुमार बौडेल – 
वैशाख ३ – रिब्दीकोट गाउँपालिकाले सबै कार्यपालिका सदस्यहरुको १० वटा बैठक भत्ता बराबरको रकम विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

गाउँकार्यपालिकाको बैठकले सबै कार्यपालिका सदस्यहरुको १० वटा बैठक बराबरको भत्ता रकम गाउँपालिकाले स्थापना गरको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बैठकले अन्यत्र जिल्लाहरुबाट आउने व्यक्तिहरुलाई समेत अनिवार्य रुपमा सम्बन्धित वडाहरुमा नै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको निरन्तर निगरानी एवं स्वास्थ्य अवस्थाको अपडेट लिने, लकडाउन अवधि बढेसँगै समस्यामा परेका थप विपन्न परिवारहरुको तथ्यांक संकलन गरी तोकिएको मापदण्ड बमोजिम वडाहरुबाट राहत उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्जेलले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकामा कार्यरत कर्मचारीहरुका तर्फबाट प्रदान गरिएको १ लाख १२ हजार ४ सय ६ रुपैंया गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने, दैनिक उपभोग्य बस्तुको सहज उपलब्धता सुनिश्चित गर्न, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुन नदिन सम्बन्धित वडाले वडा स्तरमै अनुगमन गरी उपभोक्ताले सहज र सुलभ रुपमा उपभोग्य वस्तु प्राप्त गर्ने अवस्थाको सुनिश्चित गर्ने निर्णय गरेको छ ।

त्यस्तै कालोबजारी नियन्त्रण गर्ने, पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची राख्न लगाइ नियमित अनुगमन गरी अटेरी गर्ने व्यवसायीहरुलाई प्रहरी प्रशासन मार्फत कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले जानकारी दिनुभयो ।

रिब्दीकोटले आफ्नो वडामा रहेका दिर्घ रोगीहरुको समस्या बुझी निजहरुले सेवन गर्ने औषधिको सहज उपलब्धताका लागि वडा अध्यक्षले सहजीकरण गर्ने, आवश्यकता अनुसार स्वास्थ्यकर्मी घरघरमै पठाई स्वास्थ्य परीक्षणको व्यवस्था वडा कार्यालयले मिलाउने जनाएको छ ।
स्थानीय तहको कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि गाउँपालिकाको कृषि तथा पशुपन्छी क्षेत्रको वस्तुस्थिति विश्लेषण गरी ३ दिनभित्र सुझाव लिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले जानकारी दिनुभयो ।

रिब्दीकोटले प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा कोरोना रोकथाम स्वयंसेवक समूह गठन गरी परिचालन गर्ने समेत निर्णय गरेको छ ।