सामुदायिक रेडियो मदनपोखरा
spot_img
Home Blog Page 5

पूर्वखोलाको एकीकृत घुम्ती सेवा

पूर्वखोला गाउँपालिकाले स्थानीयस्तरबाट जनतालाई सेवा दिनका लागि वडास्तरमा एकीकृत घुम्ती सेवा सञ्चालन गरेको छ । जनताका कामलाई सहज बनाउन गाउँपालिकाको ६ नं. वडा हेक्लाङमा घुम्ती सेवाबाट सेवा दिएकाे गाउँपालिकाले जनाएको छ ।

जनतालाई स्थानीय सरकारको सेवाको अनुभूति गराउनका साथै सुशासनको प्रत्याभूति गराउने उद्देश्यले घुम्ती सेवाको सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले गाउँपालिकाले जनतालाई दिने सेवा सुविधा वडाको टोलस्तरबाटै दिने भौगोलिक दुरीको हिसाबले टाढा रहेका जनताको आर्थिक र समयको बचत गराउन शिविर सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गाउँपालिकाको पहुँच भन्दा टाढा रहेका सेवाग्राहीहरुको समस्यालाई प्रमुख महत्वमा राखेर शिविरको आयोजना गरिएको बताउनुभयो । गाउँपालिकाको पहुँच भन्दा टाढा रहेका वडाका जनताहरुलाई केन्द्रमा राखेर अन्य वडाहरुमा पनि आगामी दिनमा शिविर संञ्चालन गरिने उहाँको भनाइ छ । ६ नं. वडाका वडाध्यक्ष धनबहादुर घर्तीले गाउँपालिकामा योजना संञ्चालन गर्न जाँदा अर्थ र समयको खर्च हुने भएकोले सबैको समस्यालाई ध्यानमा राखेर शिविर आयोजना गर्दा सबै सेवाग्राहीलाई सहज भएको बताउनुभयो ।

घुम्ती शिविरमा योजना संझौता, उपभोक्ता समितिको खाता खोल्ने, व्यावसाय, फर्म दर्ता नविकरण, कृषि पशुपालन परामर्श सेवा सञ्चालन गरिएको छ । यस्तै स्वास्थ्य सेवातर्फ डाक्टर द्धारा बिरामी जाँच, निशुल्क ल्याव परिक्षण साथै औषधी बितरण र भि.आइ.ए. शिविर समेत संञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।

शिविरमा ताहुँ स्वास्थ्य केन्द्रका चिकित्सक विवेक पौडयालसहितको स्वास्थ्यकर्मीको टोलीले ९२ जनालाई आधारभूत स्वास्थ्य सेवा र परामर्श प्रदान गरेको छ । जस मध्य ओपिडी सेवा ५९ जना, इन्पलान्ट ६ जना, भिआइए सेवा २१ जना, भिडियो एक्सरे ६ जनाले सेवा लिएका छन । यस्तै गरी १५ वटा योजना सम्झौता गरिएको छ । शिविरमा २३ वटा व्यवसाय नविकरण र दर्ता गरिएको छ । कृषि तर्फ २१ जना र पशुपालनतर्फ ३० जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

महिला हिंसा अन्त्यका लागि हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत तानसेन नगरपालिकाको आयोजनामा तानसेन ८ को भालेबासमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति प्रतीक्षा गाहा सिंजालीले मानिसको शिक्षा र चेतनाको सभ्यतामा विकास भए पनि सोही अनुसारको व्यवहार नभएको बताउनुभयो । हिंसा अपरिचित व्यक्तिबाट नहुने बताउदै परिचित व्यक्तिबाट हुने गरेको पाइएकोले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

सचेतना कार्यक्रमका सहजकर्ता अधिवक्ता शान्ति बस्याल र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टले सहभागीहरुलाई हिंसा, महिला हिंसा, हिंसाबाट कसरी बच्न सकिन्छ, हिंसाको पहिचानलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँहरुले महिला अब सजग बनेर अगाडि बढ्नु पर्ने र घरेलु होस वा अन्य कुनै पनि हिंसा सहेर बस्न नहुने बताउनुभयो ।

कार्यक्रममा तानसेन ७ का वडा अध्यक्ष प्रदीप खनालले सचेत समाज निर्माणमा यस्ता खाले अभियानले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । नगरपालिकाले अभियान अन्तरगत नगर भित्रका १४ वटै वडामा हिंसा विरुद्ध को सचेतना कार्यक्रम गर्नेगरी कार्यक्रम सञ्चालन गरिरहेको महिला तथा बालबालिका शाखाका चिना न्यौपानेले जानकारी दिनुभयो । तानसेन ८ मा भएको कार्यक्रम वडाध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा भएको हो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रत्यक अंग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ । यस वर्ष “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाइदै गरेकोे अभियानमा तानसेन नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सत्यवतीको मेलामा १८ लाख बढी आम्दानी

तिनाउ –४ को सत्यवती तालको धार्मिक मेलामा १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ संकलन भएको छ । मंसिर ७ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको मेलामा भेटी र सहयोग वापत उक्त रकम संकलन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

आर्थिक पारदर्शिताका लागि मेला सकिएको भोली पल्ट मंगलबार नै समिति, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थितिमा आम्दानीको हिसाव गरिएको उहाँले बताउनुभयो । सत्यवती ताल तिनाउ गाउँपालिकाको एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय महत्व रहेको स्थल भएकोले यसको विकास, संरक्षण र नियमनका लागि कार्यविधि तयार गरेर अगाडि बढ्ने योजना गाउँपालिकाको रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । विगतका वर्षमा सञ्चालन भएको मेलामा आर्थिक विषयमा गाउँपालिकामा प्राप्त गुनासोका आधारमा अहिले कार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार आम्दानी खर्चको हिसाव किताव गाउँपालिकाको प्रत्यक्ष सहभागितामा गरिएको उहाँले जानकारी दिनुभयो ।

मेलाको आम्दानीको हिसाब भएपनि खर्च विवरण संकलन भैरहेकोले आम्दानी र खर्चको हिसाव किताव गरेर समीक्षा बैठक गरिने सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । उहाँले मेला सन्तोषजनक रहेको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

कात्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा पर्ने वर्ष मात्र सत्यवती बज्यैको दर्शन गर्ने जोग पर्ने भएकोले दर्शनार्थी पुग्ने गरेपनि अहिले बाह्रै महिना दर्शनार्थीहरु सत्यवती तालमा दर्शनका लागि पुग्ने गरेका छन । सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाडने र राती पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ । यो वर्ष जोग नपरेको भएपनि अनुमानित एक लाख ५० हजार भक्तजन तालमा पुगेको आयोजकको दावी गरेको छ ।

तानसेन र वुटवल क्षेत्रबाट आउने भक्तजनहरु सिद्धार्थ राजमार्गको २४ माइल र झुम्सा पानी मिलबाट पैदल दुई घण्टाको उकालो हिडेपछि सत्यवती ताल पुग्न सकिन्छ । सवारीसाधनको प्रयोग गरेर पनि सहज रुपमा तालसम्म पुग्न सकिन्छ । यहाँ मेला भर्न रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौलगायत छिमेकी देश भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट दर्शनार्थी आउने गर्दछन

सत्यवती तालमा ५ लिने धार्मिक मेला लाग्ने

पाल्पा । तिनाउ –४ को सत्यवती तालमा ५ दिने धार्मिक मेला लाग्ने भएको छ । यहि मंसिर ७ गतेदेखि ११ गतेसम्म पूजा तथा मेला सञ्चालन गर्ने तयारी भएको पत्रकार सम्मेलनमा सत्यवती मन्दिर ताल संरक्षण विकास समितिले जनाएको छ ।

विगतका वर्षहरुमा कात्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा पर्ने वर्ष मात्र सत्यवती बज्यैको दर्शन गर्ने जोग अनुसार दर्शनार्थी पुग्ने गरेपनि अहिले बाह्रै महिना दर्शनार्थीहरु सत्यवती तालमा दर्शनका लागि पुग्ने गरेकोले वार्षिक रुपमा धार्मिक मेला आयोजना गरिने गरेको समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुयभो । उहाँले कात्तिक चतुर्दशीका दिन भक्तजनहरू रातीको १२ बजे सत्यवती बज्यैको मन्दिरमा पूजा पाठ गरी चिच्याएर वर मागी बिहानपख झिसमिसेमै बाटो लाग्ने प्रचलन भएपनि अहिले जुनसुकै दिन र समयमा दर्शनार्थी आउने र वर माग्नेको संख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाडने र राती पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ ।

यसवर्ष नेपाल र भारतका गरी एक लाख बढी श्रद्धालु भक्तजन मेला भर्न आउने अनुमान समितिले गरेको छ । गतवर्ष वर माग्ने ‘जोग’ परेकाले करिब १ लाख ५० हजार बढी श्रद्धालु भक्तजन सहभागी भएको र २१ लाख ५८ हजार दान र भेटी वापत रकम उठेको अध्यक्ष गाहाले बताउनुभयो । यस वर्ष मंसिरमा पूर्णिमा पर्दा ‘जोग’ छैन तरपनि श्रद्धालु भक्तजनको संख्यामा भने कमी नआउने समितिको दावी छ ।

दर्शनका लागि मेलामा आउने भक्तजनहरुको सुविधाका लागि सडक स्तरोन्नति, विजुली व्यवस्थापन, स्वयमसेवक तथा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाइएको आयोजकको भनाइ छ । सत्यवती ताललाई तिनाउको एतिहासिक तथा धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले काम भैरहेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले सडक स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले प्रदेश र संघसंग समन्वय गरेर काम गरिएको समेत बताउनुभयो ।

तानसेन र वुटवल क्षेत्रबाट आउने भक्तजनहरु सिद्धार्थ राजमार्गको २४ माइल र झुम्सा पानी मिलबाट पैदल दुई घण्टाको उकालो हिडेपछि सत्यवती ताल पुग्न सकिन्छ । सवारीसाधनको प्रयोग गरेर पनि सहज रुपमा तालसम्म पुग्न सकिन्छ । मेला भर्न रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौलगायत छिमेकी देश भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत दर्शनार्थी आउने गर्दछन ।

माथागढी गाउँपालिकाको समग्र विकासका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

माथागढी गाउँपालिकाको समग्र विकासका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीले गाउँपालिकाको समग्र विकासको खाका तयार गरेको गाउँपालिकाले जनाएको छ । गोष्ठीमा आर्थिक समृद्धिका आधार, स्वास्थ्य, शिक्षा, खनिज तथा खानिजन्य पदार्थको समुचित प्रयोग, सडक, युवा रोजगार तथा स्वरोजगार, स्थानीय उत्पादन र बजारीकरण, कृषि र पर्यटन, फोहरमैला व्यवस्थापन, कला तथा संस्कृति, सुरक्षा तथा आवास, सूचना तथा सञ्चारलगायतका विषयमा छलफल गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।
माथागढी गाउँपालिकाको आर्थिक, सामाजिक अवस्था, समस्या र सम्भावनाका साथै पालिकाको समग्र विकासका लागि आवश्यक योजना निर्माण, सञ्चालनका विषयमा सहजीकरण गरिएको उहाँले बताउनुभयो । कार्यशालामा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले स्थानीय सरकारको अधिकारको उच्चतम प्रयोग, विद्यार्थीको खाजा व्यवस्थापनमा स्थानीय उत्पादनको प्रयोग, सामाजिक ज्ञान र सिर्जनशीलता, मातृभाषाको संवर्धन र प्रवद्र्धन, पालिकासंग सम्बन्धित विषयवस्तुमा खोज तथा अनुसन्धान गर्नेलाई आर्थिक सहयोग, कृषि र पर्यटनलाई जोड्ने, स्थानीय उत्पादनको ब्राण्डिङका विषयमा पालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय सरकार आर्थिक रुपमा बलियो भएमात्र सबै नागरिकका आवश्यकता पूरा गर्न सकिने भएकोले त्यसतर्फ ध्यान केन्द्रित गरेर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य खेमबहादुर सारुले एकीकृत ढंगको विकास, टुक्रे बजेटको कटौती, प्रदेश र संघीय सरकारसंग समन्वय गरी आवश्यक र नविनतम कार्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले नकारात्मक सुचक घटाउने, नसके रोक्ने, खरो, छिटो र छरितो कार्यान्वयन तथा हरेक पक्षमा स्पष्टताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा सडक पूर्वाधार निर्माण तथा सडक मापदण्ड निर्धारण, भौतिक पूर्वाधार निर्माणका विषयमा समेत छलफल गरिएको थियो ।
गोष्ठीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले माथागढी गाउँपालिकाको समग्र सुचक औषत रहेको, श्रोत कम तर आवश्यकता धेरै भएकोले सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्रमुख अर्थविद प्राध्यापक डाक्टर शिवराज अधिकारीले रोजगारी र उत्पादन वृद्धि, समानता, योजना तर्जुमा गर्दा सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकाका श्रोत र विकासमा लक्षित समूहको उपस्थिति अनिर्वाय गराएर काम गर्दा सहज हुने बताउनुभयो ।
गोष्ठीमा बुटवल बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेन्द्र बहादुर जि सी, माथागढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तथा प्रवक्ता शंकर दर्लामी, वडा नं. २ का अध्यक्ष बोम बहादुर ठाडा, ३ का अध्यक्ष तेज घर्तीमगर, ५ का वडाध्यक्ष गणेशमान गाहा, कार्यपालिका सदस्य तुलसा न्यौपानेलगायतले माथागढीको विकासका लागि दीर्घकालीन योजना बनाउन कार्यशाला फलदायी रहेको बताउनुभयो ।
उहाँहरुले कार्यशालामा उठेका सवालहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

पश्चिम नेपालका पहाडि जिल्लामा कफीको राम्रो सम्भाव्यता रहेको पाइन्छ

पश्चिम नेपालका पहाडि जिल्लामा कफीको राम्रो सम्भाव्यता रहेको पाइन्छ । विगतमा कफी खेतीबाट राम्रो उत्पादन लिएका पाल्पाका किसान भने अहिले व्यसायीक रुपमा खेती गर्न सकेका छैनन् । यहाँका किसानले लामो समयदेखि कफी खेती गर्दै आएपनि सरोकारवाला निकायबाट कफीको प्रर्वद्धनका लागि उचित पहल हुन नसक्दा भने सो अनुरुपको खेती विस्तार र यसबाट आयआर्जन गर्न नसकेको पाल्पाका किसानले बताएका छन् ।

विगतका विभिन्न दातृ निकायको सहयोगमा खृती सुरु गरेका किसानले पछिल्ला वर्षहरुमा व्यवसायीक खेती विस्तार गर्न नसकेको बताएका छन् । सरकारी निकायबाट खेती विस्तारसंगै प्राविधिक र अन्य ज्ञान सीपको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको तानसेन ८ की किसान लक्ष्मी मिधुनले बताइन् । विगतदेखि नै कफी खेती गर्ने जिल्लाका अधिकांश किसानलाई सेतो गबारोले सताउने गरेको छ । तीनै तहको सरकारले पनि कफीको प्रर्वद्धनका लागि कुनै पहल नगरेको जिल्ला कफी सहकारी संघका संघका अध्यक्ष रामप्रसाद घिमिरेले बताए । उनका अनुसार पछिल्ला वर्षमा खेती गर्ने इच्छा एका किसानलाई प्राविधिक ज्ञान दिन नसक्दा र प्रत्येक वर्ष खेतीमा रोगको प्रकोपले सताउने गर्नाले सास्ती भएको हाे ।

पाल्पाका दशैं स्थानीय तहमा गरी करिब एक सय हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको संघले जनाएको छ । गत वर्ष पालपाबाट करिब ३० क्विनटल कफी निर्यात भएको संघका व्यवस्थापक कमलराज खनालले बताए । खनालका अनुसार रोगको समस्या तथा खेती गर्ने युवा शक्तिको कमीका कारण पनि राम्रो उत्पादनको सम्भावना हुँदाहुँदै पनि खेती विस्तार हुन नसकेको हो ।

पुरुष भलिबल प्रतियोगिताको तर्फको उपाधि निस्दी भलिबल क्लब पाल्पाले हात पारेको छ ।

पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवा,पाल्पामा सन्चालन भएको सातौं मण्डली कप अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको तर्फको उपाधि निस्दी भलिबल क्लब पाल्पाले हात पारेको छ ।

प्रतियाेगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३/२ को अन्तरमा हराउदै आफ्नो पक्षमा जीत निकालेको हो । त्यसैगरी जीएम समाज नवलपुरले आयोजक टीम मण्डली स्पोर्ट्स क्लब पाल्पालाई  ३/२ को अन्तरमा जीत निकाल्दै तेस्रो स्थानमा प्राप्त गर्‍यो भने आयोजक टीम मण्डली स्पोर्ट्सले सान्त्वना स्थानमा चित्त बुझाएको छ । प्रथम पुरस्कार बिजेता निस्दी भलिबल क्लबले ट्रफी सहित नगद १ लाख १२ हजार २३३ रुपैयाँ हात पारेको छ भने उपबिजेता मणिमुकुकुन्द भलिबल क्लब रुपन्देहीले ट्रफी सहित नगद ७५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको जीएम समाजले  ट्रफी सहित नगद ५५ हजार १११ रुपैयाँ र सान्त्वना स्थानमा रहेको मण्डली स्पोर्ट्सले ट्रफी सहित २५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न विधागत पुरस्कार अन्तर्गत निस्दीका हिमल सुनारीले बेस्ट प्लेयर,निस्दीकै कुन्दन शाही ठकुरीले बेस्ट डिफेन्डरको पुरस्कार प्राप्त गर्‍यो । त्यसैगरी बेस्ट सेटरमा मण्डलीका सुदीप राना छनौट भए भने बेस्ट स्पाइकरमा जीएम समाज नवलपुरका मिलन चन्द ठकुरीले प्राप्त गरेका छन् । बिजयी समूह तथा खेलाडीहरुलाई एक कार्यक्रमका बिच संघीय सांसद नारायण प्रसाद आचार्यले पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद आचार्यले खेलकुदको माध्यमबाट आफुलाई स्थापित गर्न खेलाडीहरु सक्षम हुनुपर्नेमा जोड दिनुभयो । खेलकुदले अनुशासित र जिम्मेवारी हुन सिकाउने भएकोले आफुमा भएको सीपलाई सदुपयोग गर्न सदैब तत्पर रहनुपर्नेमा आचार्यले जोड दिनु भएको थियो ।  कार्तिक २२ गते देखि पूर्वखोला,सिलुवाको खेलमैदानमा सन्चालन भएको प्रतियोगितामा विभिन्न क्लबका १० समूहहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तिम दिन सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय कलाकारहरु बद्री पंगेनी र प्रिती आलेको प्रस्तुति रहेको थियो ।

मण्डली स्पोर्ट्स क्लब सिलुवाको आयोजना र पूर्वखोला गाउँपालिका पाल्पाको सह-आयोजनामा सन्चालन भएको कार्यक्रम क्लबका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो ।

 

 

 

यमपञ्चक अर्थात् तिहार शुरु, आज कागतिहार

आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ ।

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ ।

यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा पर्सि सोमवार परेको छ ।

गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । भाइटीका बुधवार परेको छ।

बुधवार बिहान १० बजेर ५१  मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

 

तिहार आएसंगै बजारमा बढ्यो चहलपहल

पाल्पा । नेपालीहरुको दोस्रो ठूलो पर्व दिवापली अर्थात तिहार नजिकिर्दै गएसैगै जिल्ला सदरमुकाम तानसेन सहित ग्रामीण क्षेत्रका बजारहरुमा चहलपहल बढ्न थालेको छ ।

बजारमा दिवावलीका लागि आवश्यक सामग्रीहरु फूल, रङ र बत्तीहरू विक्रीका लागि सजाएर राखिएको छ । जसले गर्दा बजारनै झिलिमिली बनेको छ । यस्तैगरी तिहारका लागि किनमेल गर्न आउने उपभोक्ताहरुका कारण पाल्पा सदरमुकाम तानसेन बजार सहितका अन्य ग्रामीण बजारमा चहलपहल समेत बढ्न थालेको छ ।

तानसेनको बैंक रोड, शित्तलपाटी, विशालबजार, नारायणस्थानलगायतका क्षेत्रमा किनमेल गर्ने मानिसहरूको भीडभाड अत्यधिक बढेको छ । तिहारलाई लक्षित गरेर बजारमा विभिन्न किसिमका बत्तीहरू सजाइन थालेको छ भने व्यापारीहरूले तिहारको भाइ मसलालगायत सामग्री तथा टीका फूलमालाहरूको पनि विक्री सुरू भएकोले उपभोक्ताको भिड बढेको तानसेनका व्यापारी तजवीर मियाले बताउनुभयो ।

यसैबीच स्थानीय सरकारले प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न र स्थानीयस्तरमा कृषकले उत्पालन गरेको प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गर्दै सूचना जारी गरेपनि व्यापारीहरुले भने प्लाष्टिकका फूलमाला विक्रीलाई सजायर राखेका छन । तानसेन नगरपालिकाले पनि एक सूचना जारी गदै प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो । उहाँले फूल पाइने स्थान र कृषकको विवरण सहित सर्वसाधरणको जानकारकिा लागि सूचना प्रकाशन गरिएको बताउनुभयो ।

पाल्पाका अधिकांश स्थानीय तह सयपत्रि फूलमा आत्मनिर्भर रहेको दावी गर्दै प्लाष्टिकका फूलमाला प्रयोग नगर्न नगराउनुहुन आमनागरिकलाई अनुरोध गरेका छन । अनुरोध विपरित व्यापारिहरुले विक्री वितरण गरेको भएपनि यसको नियमनमा भने खासै ध्यान पुग्न सकेको छैन् । प्लाष्टिकका फूलामाला वातावरण र मानव स्वास्थ्य दुवैको प्रतिकुल रहेकोले प्राकृतिक फूलको प्रयोग गर्दा कृषकलाई प्रोत्सहान मिल्नुका साथै मानव स्वास्थ्य र वातावरणमा समेत राम्रो हुने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।

घरआँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन सुरु भएको छ ।

प्रायजसो करेसाबारी र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन सुरु भएको छ । विभिन्न कार्यक्रम र उत्सवमा फूल मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलको खेति सुरु हुन थालेको हो ।

पाल्पाको तानसेन नगरपालिका वडा नं. ७,८ र १० मा अहिले व्यावसायिक रुपमा फुल खेति गरिएको छ । तानसेन ८ का धुर्व भण्डारीले गतवर्षबाट व्यवसायिक रुपमा फूलखेती सुरू गर्नुभएको छ । फूलखेतीमा भण्डारीले एक लाख भन्दा धेरै लगानी गरिसक्नुभएको छ । अहिले एउटा मालाको मूल्य फूलको साइजअनुसार सय रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म कायम गरिएको छ । ‘उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन । आगामी वर्ष फूलखेती विस्तार गर्ने योजना छ ।’ भण्डारीले भने । सयपत्री फूल ढकमक्क फूलेका छन् । त्यसैले आज माहुरी र पुतली मात्रै होइन, त्यसको सुन्दरताले धेरैलाई लोभ्याउने गरेको छ । तिहार नजिकिएसँगै फूल खरिद, फूलको बगैँचा हेर्न, फोटो÷भिडियो खिच्न र टिकटक बनाउन आउने युवायुवतीको संख्या दैनिक बढ्दो छ । ‘अरु खेतीमा भन्दा फूलमा राम्रो आम्दानी हुँदो रहेछ त्यसैले अहिले पाल्पाका अन्य ठाउँमा पनि व्यवसायिक फूल खेती हुन थालेको छ ।’  अहिले एक किलो फूलको मूल्य ५ सय रुपैयाँ कायम गरिएको छ । ‘विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल स्थानीय बजारमै खपत गर्ने योजना छ भन्नुभयो।

प्रत्येक वर्ष विदेशबाट आयात हुने लाखौँ मूल्य बराबरको प्लाष्टिकका माला र खादालाई विस्थापन गर्दै फूल खेतीलाई व्यावसायिक बनाउनुपर्ने उहाको भनाइ छ । तानसेन नगरपालिका वडा नं.१० तेल्घाका राम बहादुर कुमालले पनि ब्यवसायी फुलखेतीको सुरुवात गर्नुभएको छ । उहाँले बजारमा चाडपर्वको बेला कृत्रिम रबरका फुल तथा मालाले बजार कायम गरिरहेको अवस्थामा त्यस्ता फुललाई निरुत्साहित गर्न व्यवसायीक रुपमा फुल खेती गरेको बताउनुभयो । उहाँले फुलकै लागि लाखौँ पैसा बाहिर गईरहेको समयमा आफुले उत्पादन गरेको फुलहरुले बाहिरबाट भित्रिने कृत्रिम फुलमा आयत कमि हुने बताउनुभयो । पहिलो पटक ७ हजार सयपत्रीका बोटहरु रोपेकोमा अहिले ६ हजार जति बोटहरु रहेको कुमालले बताउनुभयो ।

  ८० हजारको लागतमा ६ रोपनी क्षेत्रफलमा फुलखेती गर्दै आउनुभएको छ। उत्पादन भएका फुलहरु पाल्पामा मात्र नभई बाहिर जिल्लामा पनि निर्यात गरेको उहाँको भनाई छ । पछिल्लो समय स्वदेशमा आफ्ना खेतबारी बाँझै राखेर विदेशीने युवायुवतीको संख्या ठूलो छ । जग्गा प्लटिङ गरिएको ठाउँमा र घडेरी किनेर बाँझै राख्नुभन्दा त्यो ठाउँमा ९० दिनमा तयार हुने फूलखेती गर्न सके त्यसबाट राम्रो फाइदा लिन सकिनेछ । यदि त्यसो हुन सकेको खण्डमा विदेशबाट हुने फूल आयात घट्ने देखिन्छ। अहिले पाल्पाको तानसेन,रामपुर, पुर्वखोला, बगनासकाली,रम्भा र माथागढीमा फूलखेती व्यवसाय खेति गरिएको छ ।नेपाल कृषि प्रदान देश भनिएता पनि स्थानिय सरकारले कुनै चासो दिन् नसकेको कृषकको गुनासो रहेको छ ।