पाल्पामा यो वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यो वर्ष पाल्पामा धान उत्पादन घटेको हो । धान खेती गर्ने क्षेत्रफल घटेका कारण यो वर्ष उत्पादनमा असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । ज्ञान केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार यो वर्ष पाल्पाको धान उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव आठ प्रतिशत मात्र छ । गत वर्ष आठ दशमलव नौ प्रतिशत थियो । गत वर्ष आठ हजार २१० हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यो वर्ष घटेर सात हजार ३९० हेक्टर क्षेत्रफलमा मात्र धानखेती भएको थियो ।
यो वर्ष पर्याप्त पानी नपरेका कारण र खेती गर्ने जनशक्ति अभावका कारण धान खेती गर्ने क्षेत्रफल घटेको ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गत वर्षको तुलनामा यो वर्ष ९० प्रतिशत भूभागमा मात्र धानखेती भएको छ ।’’ बसाइसराइँ र ज्यामी अभावले धानखेती हुने क्षेत्रफल घटेको उहाँले बताउनुभयो । पाल्पामा साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुख्खा धान, सावित्री तथा स्थानीय जातको धानखेती हुँदै आएको छ । पछिल्लो समय उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेपनि यो वर्ष भने प्रारम्भिक तथ्याङ्कमा उत्पादन घटेको ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष चौधरीले बताउनुभयो । धान खेती हुने क्षेत्रमा सिंचाइको अभावका कारण पनि धान लगाउने क्षेत्र घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । चार वर्षअघि मात्र आठ हजार ६२० हेक्टरमा धानखेती हुँदै आएको थियो तर पछिल्लो तीन वर्षयता धान खेती हुने क्षेत्रफल निरन्तर रुपमा घटेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।
तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास बुद्ध धर्मावलम्बीको महत्वपूर्ण तीन महिने वर्षाबास पर्व सकिएको छ । तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि तानसेनमा ‘कठिन चीवर दान’ उत्सवको आयोजना गरी वर्षाबासको समापन गरिएको छ । दाता ज्ञानमाला संघ आनन्द विहारले विहारमा वर्षाबासमा बसेका ३ जना भिक्षुसहित विभिन्न देशका ३२ जना भिक्षुहरुलाई कठिन दान गरेको छ । बौद्ध परम्पराअनुसार विहारले टुँडिखेलमा भिक्षुुहरुलाई चीवर दान, अष्टपरिकार दान, धर्म सँगदान गरेको हो । दान गर्नुअघि भिमसेन टोलमा रहेको विहारबाट झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो । उक्त पदयात्रा टुुँडिखेल, तेस्रो सडक, शितलपाटी, टक्सारटोल, लहरेपिपल हुँदै टुुँडिखेलमा पुुगेर महोत्सवमा परिणत भएको थियो । शान्ति पदयात्रापछि त्यहाँ कठिन पूजा गरिएको थियो । उक्त अवसरमा प्रमुख भिक्षुु अशोक महास्थवीरले धर्मदेशना, भिक्षुु मेघनकर महास्थवीरले शील प्रार्थना, अन्तर्राष्ट्रिय परियत्ती उदय विहारका प्रमुख भिक्षुु ज्ञानेन्द्र स्थवीरले बुद्धपूजा र अछाम विहारका प्रो. भन्ते पैयासारले पूण्य अनुुमोदन गर्नुभएको थियो । धर्मदेशना गर्दै भिक्षुु अशोक महास्थवीरले गौतम बुद्धको उपदेश र उनले अनुुमति दिएको ‘कठिन चीवर दान’का विषयमा जानकारी गराउनुभएको थियो । कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने र नागरिकमा दान, शिल र भावनाको विकास हुने उहाँको भनाइ थियो । । महास्थवीरले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षबासमा बसेका भिक्षुलाई लगाउने बस्त्रसहितका सामग्री दिन सकिने परम्परा भएकाले यसलाई कठिन दान भनिएको जानकारी गराए । कार्यक्रमका संयोजक तथा आनन्द विहारका पूर्व अध्यक्ष सर्जुुलाल बज्राचार्यले तीन महिना एकै ठाउँमा नियमपूर्वक वर्षाबास बसेका भिक्षुलाई बसमापनको अवसरमा ‘कठिन चीवर दान’ दिने बौद्ध परम्परा रहेकाले सोही अनुसार चीवर दान गरिएको बताउनुभयो । विहारका अध्यक्ष उत्पल कुमार बज्राचार्यले वर्षावास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए–गरेका त्रुटि कमजोरीबाट पाप नलागि क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षाबास बस्ने गरेको बताउनुभयो । उहाँका अनुसार साउनको पूर्णिमादेखि कार्तिकको पूर्णिमासम्म ३ महिना भिक्षुुहरु वर्षाबास बसेका जानकारी दिनुभयो । भिक्षुु पैयासार स्थवीर, भिक्षुु सरण र श्रामणेर महिन्द आनन्द विहारमा वर्षाबास बसेका थिए । उनीहरुसहित विभिन्न देशका ३२ जना भिक्षुुलाई दान गरिएको थियो । लुम्बिनी, बुटवल, पोखरा, धरान, थाइल्याण्ड, भारत, अछामबाट भिक्षुुहरु तानसेन आएका थिए । महोत्सवमा भिक्षुले लगाउने पहेंलोवस्त्र (चिवर) र भिक्षा पात्र दान गरिएको थियो । कसैले अष्टपरिकार दान गरेका थिए । भिक्षुले लगाउने पहेंलो वस्त्र (चिवर) र भिक्षा पात्रलाई चिवर दान भनिन्छ । अष्टपरिकारमा भिक्षुका लागि आवश्यक कपाल र दारी खौरने समान, भित्री बाहिरी कपडा, सियो–धागोलगायत ८ सामग्री हुन्छ । चिवर दानपछि भन्तेलाई भोजन दान गरिएको थियो ।
पाल्पा । दमकडा माध्यमिक विद्यालय पाल्पाले इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ ।
सामुदायिक विद्यालयहरुमा नमूना कार्य प्रदर्शन गर्दै आएको र उत्कृष्ट नतिजा दिने गरेको दमकडा माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको हो । यो अवार्ड २०२०–०२३ का लागि प्राप्त भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो । विद्यालयलाई उत्कृष्टस्तरको मान्यता दिन यो अवार्ड दिने गरिन्छ ।
सिकाइ उपलब्धी बढाउन र सिकाइलाई समृद्ध बनाउने योजनाले ब्रिटिस काउन्सिलले यो अवार्ड प्रदान गर्दै आएको छ । यो अवार्ड निजी विद्यालयहरुले प्राप्त गरिरहेका भए तापनि पाल्पामा सामुदायिक विद्यालयतर्फ दमकडा माध्यमिक विद्यालयले पहिलो पटक पाएको हो । विद्यार्थी तथा शिक्षकलाई सिकाइमा नयाँ दृष्ट्रिकोण प्रदान गरी विश्वमा काम गर्न सक्ने सीप विकास गराइएको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक तथा कोअर्डिनेटर होत्रीराज ढुंगानाले अवार्ड दिलाउन स्थानीय साझेदार विज्डम बोर्डिङ स्कुल, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, माण्डव्य मन्दिर व्यवस्थापन समिति, कृषि सेवा केन्द्र दमकडालाई परियोजना कार्यमा साझेदारी गरेकोमा धन्यवाद दिनुभयो । ब्रिटिस काउन्सिलको यो कार्यक्रम अहिले विश्वका ३१ देशमा लागू छ । विश्वका २ सय ६७ विद्यालयले यो अवार्ड प्राप्त गरिसकेका छन् । याे इन्टरनेशनल स्कुल अवार्ड रुपन्देहीको कालिका माध्यमिक विद्यालय र गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले पनि प्राप्त गरेका छन् ।
के हो इन्टरनेशनल स्कुल अवार्ड ?
यो इन्टरनेशनल स्कुल अवार्डमा सहभागिता जनाउने स्कुलहरूलाई प्रदान गरिने वार्षिक अवार्ड हो । हरेक वर्ष यस अवार्डमा सहभागी हुन इच्छुक स्कुलहरूबाट आवेदन आह्वान गरी प्राप्त आवेदनका आधारमा स्कुल छनौट गरिन्छ । ती स्कुलहरूको अन्तर्राष्ट्रिय कार्यको अभिलेख राख्न एवं मूल्यांकन गर्न र यसलाई उनीहरूको पाठ्यक्रममा समावेश गर्न ब्रिटिश काउन्सिलले इन्टरनेशनल स्कुल अवार्डलाई विद्यालयहरूका लागि एक प्रमाणीकरण ढाँचाका रूपमा प्रस्ताव गर्छ।
इन्टरनेशनल स्कुल अवार्डले एक मापदण्डका रूपमा कार्य गर्छ । यसअन्तर्गत स्कुलहरूले बालबालिकामा विश्व नागरिक भावनाको विकास गराउनुपर्ने तथा शिक्षण र सिकाइलाई समृद्ध बनाउनुपर्ने सर्त राखिएको हुन्छ ।
विद्यालय विकासका लागि इन्टरनेशनल स्कुल अवार्डको पहुँच समग्र रूपमा हुने र पाठ्यक्रममा आधारित प्रोजेक्ट कार्य तरिका अनुकरण गरी विद्यार्थीमाझ यसको प्रयोग गर्न शिक्षकहरूलाई प्रोत्साहित गर्ने ब्रिटिश काउन्सिलको दाबी छ । यसले नेतृत्वलाई समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा प्रोत्साहित गर्छ । इन्टरनेशनल स्कुल अवार्डमा सामग्री छनौटको स्वतन्त्रता हुने र विद्यालयलाई आफ्नो पाठ्यक्रममै यसलाई सामेल गर्न प्रोत्साहित गरिने काउन्सिलको भनाइ छ।
इन्टरनेशनल स्कुल अवार्डले सूचना तथा सञ्चार प्रविधि र शिक्षण विधिमा सुरक्षित र व्यवस्थित तरिकाले नयाँ सीपको अभ्यास गर्ने अवसर उपलब्ध गराउँछ । ब्रिफिङ, कार्याशाला, अनलाइन समुदाय र अवार्ड समारोहमा हुने सहभागिताले देशभरका स्कुललाई एकसाथ उभ्याउने र यसले विचारहरूको वृहत आदानप्रदानलाई प्रोत्साहित गर्ने काउन्सिलको दाबी छ ।
अवार्ड प्रदान गर्ने स्कुललाई कसरी मूल्यांकन गरिन्छ ब्रिटिश काउन्सिल, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरूको एउटा समूह बनाइएको छ । सहभागी स्कुलहरूले पेश गरेका अभिलेख वा प्रमाणका विवरण मूल्यांकन गरिन्छ । अनि कार्यको सत्यता र बालबालिकाहरूमा सिकाइ उपलब्धि हेर्न विद्यालय भ्रमण गरिन्छ । पेश गरिएका प्रमाण र विद्यालय भ्रमणका समयमा देखिएका उपलब्धिहरूको आधारमा ती विद्यालयहरूलाई अवार्ड प्रदान गरिन्छ ।
तानसेन । पाल्पाकाे जिल्ला सदरमुकाम रहेकाे नगरपालिका तानसेन नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ ।
नगरसभामा नगरप्रमुख अशोककुमार शाहीले प्रस्तुत गर्नुभएकाे चालु आव २०७८/०७९ को अर्धवार्षिक समीक्षा तथा उपलब्धीको प्रतिवेदन पारित भएकाे छ । सभामा नगरप्रमुख शाहीले चालु आवमा एक वडा एक किलोमिटर कालोपत्रे सडकको काम सुरु भएको, छोरी शिक्षा कार्यक्रम संचालन भएको, विभिन्न विद्यालयलाई स्कुल बसमा साझेदारी गरेको बताउनुभयो ।
नगरप्रमुख शाहीले तानसेनमा विपन्न नागरिकका लागि स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिएको, सार्वजनिक नीजि साझेदारी कार्यक्रममार्फत फाहोर मैला व्यवस्थापनको जिम्मेवारी दिएको, अन्य सानिसाको कार्यक्रमको अगाडि बढेको नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले चालु आवका लागि विनियोजन गरेको बजेटमा संशोधन गरेर एक अर्ब ४१ करोडमध्ये पुँजीगतर्फ ६३ करोड १३ लाख र चालुतर्फ ७७ करोड ४४ लाख गरिएको बताउनुभयो । नगरपालिकाले यो वर्ष तरकारी, दुध र मासुमा आत्मनिर्भर बनाउन कार्यक्रम संचालन भईरहेको छ । युवा, महिला तथा विपन्नका लागि स्वरोजगार बनाउन तालिम, सहुलियत दरमा ऋण प्रदानमा नगरपालिकाले लगानी गरेको छ ।
नगरसभामा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले चालु आवको शंसोधित विनियोजन विद्ययेक प्रस्तुत गर्नुभएको थियो । सभाले नगरप्रमुख शाहीले राख्नुभएको समीक्षा प्रतिवेदन र उपप्रमुख पाठकले राख्नुभएको विनियोजन विद्ययेक समेत पारित गरेको छ । सभाको शून्य समयमा तानसेन ५ का वार्ड सदस्य बिष्णु बहादुर कार्की, रमेश न्यौपाने, दुर्गा नेपाली, नारायण न्यौपाने, प्रशान्त मल्ल लगायतले आ–आफ्नो धारणा र सुझाव राख्नुभएको थियो ।
तानसेन । पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले सांसद सेवा सुविधाअन्तर्गतकाे रकम जिल्लाको विकास निर्माणमा लगाउने घोषणा गर्नुभएकाे छ ।
जिल्ला सदरमुकाम तानसेनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले कार्तिक १ गतेदेखि लागू हुने गरी सांसदकाे सेवा सुविधा वापत पाउने सम्पूर्ण रकम विकास निर्माणमा खर्च गर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, “जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता पाल्पाली जनताको समस्या समाधानमा खर्च गर्छु ।”
पूर्व उद्योगमन्त्री पाण्डेयलेस्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्वृद्धवृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिनुभयाे । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य रहनुभएका पाण्डेयले नेकपा विभाजन र आफू समाजवादीतिर रहने निर्णय भएपछिकाे सांसद सेवा सुविधा विकास निर्माणमा लगाउने हुनुभएकाे छ । पाण्डेय २०५१, २०५६, २०७० र २०७४ सालमा पाल्पाबाट प्रतिनिधि सभा सदस्य र संविधानसभा सदस्य पदमा निर्वाचित हुनुभएकाे हाे ।
यसपालीको तिहारमा धेरैले उपहार र कोशेलीका रुपमा पाल्पाली ढाका प्रयोग गरेका छन् ।
दिदीबहिनीहरुले दाजुभाईलाई टीकापछि उपहार दिन पाल्पाली ढाकाको टोपी, गलबन्दी लगेका हुन् । दाजुभाइले पनि दिदी बहिनीका लागि ढाकाको साडी र पछ्यौरा उपहार दिएका छन् । पाल्पाली ढाका संघले ढाकाको ब्राण्डिग गरेर बजारमा ल्याउन थालेपछि गुणस्तरीय ढाका किन्नेहरु बढेका हुन् । तानसेन नगरपालिकाले पाल्पाली ढाकाको पहिचान र गरिमालाई कायम राख्न ढाकाको ब्राण्डिग गरेर बजारमा ल्याउने कार्यका लागि युके एड, लुम्बिनी प्रदेश सरकारसँग नेपाली ढाका समृद्धिका लागि साझेदारी परियोजना सञ्चालन गरेको थियो ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई कोशेलीको रुपमा ढाकाबाट उत्पादिन सामान दिने चलन नै बसेको छ । कोरोनाको लहर घट्न थालेपछि तिहारमा ढाकाको बिक्री वितरण बढेको पौड्याल ढाका उद्योगका मनोज पौड्यालले बताउनुभयो । पाल्पालली ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनले गत वर्षको दशैंतिहारमा भन्दा योे वर्षको दशैंतिहारमा ढाकाको माग बढी रहेका बताउनुभयो । परम्परागत तानमा हातले बुनेका ढाका कपडाको माग बढ्न थालेपछि ढाका व्यवसायीहरुले पनि हाते तान बढाएका छन् । ढाका व्यापारीका अनुसार तिहारको अघिल्लो तीन दिन व्यापार भयो । मदनपोखरा ढाका पसलका प्राेपराइटर सितम भण्डारीले भन्नुभयाे, ‘गत वर्ष यत्तिको पनि व्यापार थिएन । यसपटक राम्राे व्यापार भयाे, खुसी भइयो ।’
उद्यमी गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि २०१५ सालमा पाल्पामा ढाका उत्पादन गर्न थाल्नुभएको हो । यो उत्पादन नै अहिले पाल्पाली ढाकाको रुपमा पहिचान बनेको छ । तानसेन नगरपालिकाले टुँडिखेलमा ढाका मात्र पाइने पाल्पाली कोशेली घर पनि सञ्चालन ल्याएको छ ।
पाल्पामा व्यावसायिक रुपमा फुल खेती सुरु भएपछि तिहारमा फूलकाे व्यापार बढेकाे छ ।
माथागढी गाउँपालिका २ रुप्सेका दामोदर घर्ती, रामपुर ४ देवीस्थानका दिलबहादुर थापाले फुल खेती गरी माला र फुल बिक्री गरिरहेका छन् । तिहारका बेलामा बारीमा लगाएको फुलले यस वर्ष राम्रो बजार पाएको छ । फुल टिप्ने, माला उन्ने र बजारमा लैजान हतार हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा मालाको भाउ पनि बढेको छ ।
एक सय रुपैयाँमा एउटा माला बिक्री हुने दामोदर घर्तीले बताउनुभयो । तिहार उज्यालो र फूलको पनि पर्व भएकाले फुलको माग धेरै रहेको छ । तानसेन, रामपुर, माथागढीलगायतका स्थानमा व्यावसायिक रुपले लगाएका फूल स्थानीय बजारमा िबक्रीका लागि राखिएका छन् । तिहारमा फूलको माला नपाएर बजारका कृतिम माला लगाउनेहरुले पनि फुलका माला खोज्न थालेका छन् । फुल व्यवसायी थापाले भन्नुभयो, कार्यक्रमहरुमा खादाको साटो माला नै प्रयोग गरिदिने हो भने वर्षभरि नै फुल बिक्री हुन्थ्यो, खेती गर्नेलाई प्रोत्साहन हुने थियो ।
पाल्पामा तिहारका लागि फूल तयार, माथागढी गाउँपालिका–२, रुप्सेका किसान दामोदर घर्ती व्यावसायिक सयपत्री खेतिमा रमाउदै”- पाल्पामा तिहारका लागि आवश्यक पर्ने फूल तयार भएको छ तिहारलाइ लक्षित गरी यहाँका पुष्प कृषकहरुले फूल तयार गरी बिक्रिका लागि तयारी अवस्थामा राखेका हुन । तिहारको लागि बिशेष गरी सयपत्री, मखमली, गुर्दाैली फूलको प्रयोग गरिन्छ ।
दामाेदरकाे फूलमा लगाव
माथागढी गाउँपालिका–२, रुप्सेका किसान दामोदर घर्तीले झण्डै ३ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सयपत्री फूलको खेती गर्नुभएको छ । कृषक घर्तीले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पुष्प व्यवसाय सुरु गर्नुभएको हो ।‘फूल खेतीको पनि नेपालमा प्रशस्त सम्भावना रहेको छ । सरकारले भारतबाट फूल नल्याउने बताएको छ । कृषकका लागि खुसीको कुरा हो । सरकारले विचौलियाको पनि व्यवस्थापन गर्नुपर्छ ’ किसान घर्तीको भनाइ छ ।’सधैं आलू खेती गरिने जग्गामा फूल खेती गर्दा यहाँका अन्य किसान भने आश्चर्यमा परे । कतिपयलाई फूलले बजार पाउने कुरामा आशंका व्यक्त गरे । तर घर्तीको खेतमा फुलेको फूल हेर्न र खरीद गर्न समेत टाढाटाढाबाट व्यापारीहरु आउन थालेका छन् ।
उहाँले दशैं र तिहारका लागि दुई थरी फूल फूलाउनुभएको छ । दशैंमा केही फूल बिक्री भइसकेको छ । तिहारका लागि तयारी अवस्थामा दुई रोपनी क्षेत्रफलमा फूलहरु फूलेका छन् । एउटा मालाको एक सयदेखि एक सय पचास रुपैयाँसम्ममा घरबाटै बिक्री हुने कृषक दामोदर घर्तीको भनाई छ । तानसेन, वगनाशकाली, रामपुर, माथागढी, भैरवस्थान क्षेत्रमा फूल खेती गरिँदै आएको छ ।
पाल्पा । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पाल्पाका स्थानीय तहमा पालिका सभापति र पदाधिकारी निर्वाचित भएका छन् ।
दश स्थानीय तहमध्ये ९ वटामा निर्वाचन सम्पन्न भई पालिका सभापति र पदाधिकारी आएका छन् । तानसेनमा निर्वाचन स्थगित भएको छ । सात स्थानीय तहमा सर्वसम्मत निर्वाचन भएको छ भने रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकाका पदाधिकारीमा निर्वाचन भएको हो । नेपाली काँग्रेस रामपुर नगरपालिकाको सभापतिमा नेत्रप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी अर्जुन रेग्मीलाई पराजित गरी भट्टराई नगर सभापतिमा निर्वाचित हुनुभयो । कुल २ सय ८ मत खसेकोमा भट्टराईले १ सय २५ र रेग्मीले ८२ मत प्राप्त गर्नुभएको छ ।
रिब्दीकोट गाउँपालिकाको सभापतिमा रामचन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी इन्द्र पाण्डेलाई पराजित गरी पाण्डे नेपाली काँग्रेस रिब्दीकोटको सभापतिमा निर्वाचित हुनुभयो । विजयी पाण्डेले ९७ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्दी पाण्डेले ७ मत मात्र प्राप्त गर्नुभएको थिथो ।
जिल्ला सदरमुकाम रहेकाले सर्वाधिक चासो रहेको तानसेन नगरपालिकामा सभापतिका दुई जना आकांक्षी भएपछि निर्वाचन स्थगित भएको छ । सुर्वणमूनि शाक्य र मोहनप्रसाद श्रेष्ठ सभापतिमा दावी गर्नुभएको छ । नेपाली काँग्रेस तानसेनको १४ औं अधिवेशन उद्घाटन शत्र भने सम्पन्न भयो । नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरेले सहमतिको प्रयास गरिएको र सहमति हुँदै नभए निर्वाचनमा लैजाने बताउनुभयो ।
नेपाली काँग्रेस निस्दीको सभापतिमा पूर्णबहादुर खाँड, पूर्वखोलाको सभापतिमा विष्णु आचार्य, रम्भाको सभापतिमा ऋषिराम अर्याल, माथागढीको सभापतिमा दीपक थापा, तिनाउको सभापतिमा प्रेम पाण्डे, बगनासकालीको सभापतिमा थानेश्वर तिमिल्सना र रैनादेवी छहरा गाउँपालिकाको सभापतिमा विष्णु पोखरेल निर्विरोध निर्वाचित भएका छन् । सात पालिकाका सभापति पौडेल पक्षमा खुलेका छन् भने दुई सभापति खुलिसकेका छैनन् । यो परिणामले पाल्पामा पौडेल पक्षकै बाहुल्यता रहने निश्चित भएको छ ।
नेपाली काँग्रेस पाल्पाको जिल्ला कार्यसमिति निर्वाचन भने महासमिति सदस्य निर्वाचन भएपछि मात्र हुने प्रावधान रहेकाले दशैं पछि मात्र हुनेछ । जिल्ला सभापतिका लागि धेरै जना आकांक्षी रहे तापनि महासमिति सदस्य नबन्दासम्म सबै मौन बसेका छन् । वडा र पालिकास्तरीय निर्वाचन हेर्दा जिल्ला सभापति विरबहादुर रानाले जसलाई समर्थन गर्दछन्, उही नै नेतृत्वमा आउने पक्कापक्की देखिन्छ ।
तानसेन । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित स्थानिय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत आधारभुत सामुदायिक मेलमिलाप तालिम भदौ २९ देखि तानसेनमा सुरु भएको छ ।
तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष कुष्ण प्रसाद बस्यालले समाजमा हुने सानोतिनो विवाद समेत बढ्दै गएर ठूलो दुर्घटना हुनसक्ने भएकोले समुदायस्तरबाट मेलमिलाप गर्न सकेमा बढी प्रभावकारी हुने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठकले तालिम पश्चात् मेलमिलापकर्ताहरुले फाटेको मन सिलाउन सक्ने सीप विकास हुने अपेक्षा गर्नुभयो ।
रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापाले तालिमबाट सबै वडामा मेलमिलापकर्ता उत्पादन भै विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बगनासकाली गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टिका बहादुर थापा, दि एसिया फाउण्डेशनका प्रदेश फिल्ड कोअर्डिनेटर चुरामणि पोखरेल लगायतले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।
तालिम कार्यक्रममा दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मुख्य आदर्शबाट निर्देशित भै विवाद र मेलमिलाप सम्बन्धि सैद्धान्तिक पक्षहरु, मेलमिलाप सम्बन्धि कानुनी आधारहरु, मेलमिलापकर्ताको भूमिका, मेलमिलाप सम्बन्धि प्रक्रियागत सिपहरु, मानव अधिकार, व्यक्तिगत तथा बहुसरोकारका विवादहरुका सन्दर्भमा प्रशिक्षण दिइने केन्द्रका कार्यक्रम तथा लेखा अधिकृत रमिला हुमागाईंले बताउनुभयो ।
बगनासकाली र रैनादेवी छहरा गाउँपालिकाका गरी ६५ जना सहभागी रहेको यस तालिममा केन्द्रका अधिकृतहरु मिना सुयल, रमिला हुमागाईं, भोलानाथ धिताल, प्रशिक्षक ठाकुर चौलागाईं र यम बहादुर जोशीले प्रशिक्षण दिने जानकारी जिल्ला कार्यक्रम संयोजक अम्बिका वश्यालले दिनुभयो ।
उद्घाटन सत्र बगनासकाली गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक सरस्वती चिदीको अध्यक्षता र केन्द्रका पाल्पा जिल्ला कार्यक्रम संयोजक अम्बिका वश्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
तानसेन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले पाल्पामा जिल्ला कमिटी घोषणा गरेको छ ।
नेकपा एसले हिजो तानसेनमा भेला गरी १ सय २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । नेकपा एमालेमा विद्रोह गर्नेहरूको भेलाले नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा वगनासकाली १ पिप्लेका कमल पाण्डेयलाई चयन गरेको छ । कमिटीको उपाध्यक्ष रमा घर्ती, सचिव मोहन लाल गैरे, उपसचिव कमल सेन चयन हुनुभएको छ ।
घोषणा सभामा कमिटीका ७५ जनाको नाम आएको र बाँकी ५० जना जिल्ला कमिटी बैठकले थप गर्ने नव गठित कमिटीका अध्यक्ष कमल पाण्डेले बताउनुभयो । भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार सदस्यमा पदम प्रसाद अर्याल, चन्द्रकान्त पोखरेल, बसन्त श्रेष्ठ, विष्णु प्रसाद खनाल, कर्ण बहादुर सुनार र पिताम्वर कडेंल रहनुभएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले पार्टी फुटबाट बचाउन अन्तिम प्रयासमा जुटेको भए तापनि केपी ओलीको दम्भ, घमण्ड र व्यक्तिवादी सोचका कारण असफल भएको बताउनुभयो । उहाँले वरिष्ट नेता माधव नेपाल लगायतलाई गरिएको कारवाही फिर्ता भएको भए पार्टीमा विद्रोह गर्ने अवस्था आउने थिएन भन्नुभयो । घोषणा सभामा पार्टीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे, सचिव मोहनलाल गैरेले, सल्लाहकार समितिका संयोजक लेखनाथ पोखरेल, प्रदेश सांसद रमा घर्ती, नेकपा एसका रुपन्देही सचिव सिद्धिचरण भट्टराई, दैनिकपत्रका प्रधान सम्पादक बालकृष्ण चापागाई, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण कार्की, प्राध्यापक भेषराज सुवेदी, प्याव्सनका पूर्व जिल्ला अध्यक्ष मिन प्रसाद बञ्जाडे लगायतले नेकपा एमालेबाट विद्रोह गरी एकिकृत समाजवादीमा लाग्नुपर्नाका कारण बारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।