पाल्पा । पाल्पामा पाँच महिनादेखि जारी निषेधाज्ञा भदाै २५ गतेदेखि हटाइने भएकाे छ ।
जिल्ला काेभिड-१९ संकट व्यवस्थापन समिति (DCCMC) काे बैठकले निषेधाज्ञालाई खुकुलो बनाइएको छ । यसअघि विहान ७ देखि ५ बजेसम्म मात्र सञ्चालन गर्न भनिएकाे उद्योग, पेशा व्यवसायकाे सीमा हटाइएको छ । पसलहरू नियमित रूपमा खुल्न पाउनेछन् ।
विद्यालय संचालनको लागि स्थानीय तहले अवस्था हेरेर सिफारिस गर्ने निर्णय भएको छ ।विद्यालय संचालन लगायतका विषयका कोभिड अध्यादेश तथा स्मार्ट लकडाउनको कार्ययोजना अनुसार संचालन गरिने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार अब सबैप्रकारका सेवाहरु तोकिएका मापदण्ड पालना गर्ने गरी खुलाउने निर्णय भएको छ ।
मठ मन्दिर, सभा सम्मेलन लगायतका भीडभाड जन्य गतिविधि बाहेक अन्य सबै क्षेत्र सुचारु गर्ने निर्णय भएको छ।
पाल्पा । नेपाली कांग्रेसको आशन्न महाधिवेशनका लागि आज पाल्पा जिल्लामा वडा अधिवेशन हुँदैछ ।
नेपाली काँग्रेकाे १४ औँ महाधिवेशनका लागि आज जिल्लाभरका ८१ वटा वडामा एकैपटक अधिवेशन हुने नेपाली काँग्रेसका सचिव झपेन्द्र गहिरेले बताउनुभयाे । अधिवेशनमा कांग्रेसका क्रियाशिल सदस्यहरुले वडास्तरीय नयाँ नेतृत्व र क्षेत्रीय प्रतिनिधिकाे चयन गर्नेछन् । वडामा सभापति, उपसभापति २, सविच २, सहसचिव २, कोषाध्यक्ष १ जना निर्वाचित हुने व्यवस्था छ । वडा समिति २५ सदस्यीय हुनेछ भने क्रियाशिल सदस्यकाे संख्याका आधारमा १५ देखि ४५ जना क्षेत्रिय प्रतिनिधि चुनिनेछन् ।
पाल्पामा कुल ९ हजार १ सय ५८ जना क्रियाशिल सदस्य रहेका छन् । सबैभन्दा धेरै रामपुर नगरपालिका वडा नं. ५ ममा ५ सय ४ जना क्रियाशील सदस्य छन् भने सबैभन्दा कम पूर्वखाेला गाउँपालिका वडा नं. ४ देवीनगरमा १७ जना क्रियाशील सदस्य रहेका छन् । वडा अधिवेशनमा सबै क्रियाशिल सदस्यले भाग लिनेछन्।
वडाको अधिवेशनपछि गाउँपालिका, नगरपालिका, क्षेत्र र जिल्लाको समेत अधिवेशन हुने भएकाले नेतृत्वका लागि जिल्लास्तरीय नेताहरु दौडधुपमा छन् । पार्टीभित्र संस्थापन र संस्थापन इतरकाे वहस प्रारम्भिक रूपमा चलेकाे छ । विगतका अधिवेशनमा वडा तहबाटै हारेकाले जिल्लामा उम्मेदवार बन्न नपाएकाले पनि अहिले नेतृत्वका दावी प्रकट भएका छैनन । वडा अधिवेशनपिछ त्याे खाका बाहिर आउने अनुमान गरिएकाे छ ।
दमकडा । अँधेरी छर्छरे सामुदायिक वन उपभोक्ता समुह तानसेन ९ दमकडाले समूहभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
उपभोक्ता समूहले ८४ वर्ष उमेर पार गरेका, जैविक विविधता संरक्षणमा सहयोगी बनेका १० जना ज्येष्ठ नागरिकलाई १३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसर पारेर सम्मान गरेको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले ज्येष्ठ नागरिकका अनुभव, सीप र क्षमताले जैविक विविधताको संरक्षण, प्राकृतिक सन्तुलन कायम भएको बताउँदै पछिल्लो पुस्ताले त्यो ज्ञान लिनुपर्नेमा जोड दिनुभयो । उहाँले गिद्ध संरक्षण र पर्यापर्यटनको विकास सँगसँगै गर्नुपर्छ भन्ुनभयो । नगरपालिका प्रमुख शाहीले प्रकृतिको कुचीकार गिद्धले वातावरण स्वच्छ राख्न खेलेको भूमिका संझिदा यस्को संरक्षणमा सबैको चासो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत उपेन्द्र अर्यालले वासस्थानको विनास, आहाराको अभाव र डाइक्लोफेनेक औषधीको दूरुपयोगका कारण गिद्धहरु लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षणका लागि जनसहभागिताको खाँचो रहेको बताउनुभयो । अँधेरी छर्छरे सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष दिनेश बस्यालले पंक्षी संरक्षण संघको सहयोगमा गिद्ध संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । ज्येष्ठ नागरिक मैत्री न्यानो शीतल घर निर्माण उपभोक्ता समितिका अध्यक्ष मिनप्रसाद बन्जाडेले ज्येष्ठ नागरिक सामाजिक ज्ञानका भण्डार भएकाले उहाँहरुको सम्मानले सामाजिक संस्कार सुदृढ हुने विचार व्यक्त गर्नुभयो । नेपाली काँग्रेस गाउँ इकाईका सभापति पुर्षोत्तम अर्यालले ज्येष्ठ नागरिकको सम्मानले स्वाभिमान बढ्ने बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई हर्लिक्स र च्वनप्रास प्रदान गरिएको छ । सम्मान ग्रहण गरेपछि खुशी हुनुभएका ९५ वर्षिय वेनिराम ढकालले विगतमा खागोको टोकाई र रोगलाई जितेको प्रसंग निकाल्दै भन्नुभयो, यो सम्मानले आयू थपिएको छ । दुर्गालाल भट्टराइ, लक्ष्मीपति बस्याललगायतले गिद्ध धार्मिक रूपले पनि सीता हरणका बेला सहयाेगी पंक्षी रहेकाे बताउनुभयाे ।
अँधेरी छर्छरे सामुदायिक वनको ठूलो सिमलमा गिद्धका दशौं गुँडहरु रहेका थिए । नेपालमा पाइने र संकटापन्न अवस्थामा पुगेका डंगर र सानो खैरो गिद्ध यहाँ देखिन्थे । गिद्ध संरक्षणका लागि वन समूले सचेतना कार्यक्रम, वासस्थानको संरक्षण, आहारा व्यवस्थापनलगायतका कार्यक्रम गर्दै आएको छ । गिद्ध सचेतना दिवसकै अवसरमा सामुदायिक रेडियो मदनपोखराले परिसंवाद कार्यक्रमसमेत आयोजना गरेको थियो ।
डुम्रे । सिद्धार्थ राजमार्गकाे पाल्पा बुटवल खण्डमा सवारीसाधन चल्न थालेकाे छ ।
तीन दिनदेखिअबरुद्ध सडकमा खसेकाे पहिराे हटाएपछि बाटाे एकतर्फी रूपमा खुलेकाे छ। लगातारकाे वर्षातले तानसेन–८, तल्लो डुम्रेमा खसेको पहिरोले सवारी आवागमन राेकिन पुगेकाे थियाे ।
सडक डिभिजन कार्यालय पाल्पाले सडकमा खसेकाे पहिलाे पन्छाएपछि एकतर्फी रूपमा गाडी चल्ने अवस्था भएकाे जनाएको छ । ठूलाे पहिरो र लगातारकाे झरीले पहिराे हटाउन अवराेध गरेकाले धेरै समय लागेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताउनुभयाे ।
पानी रोकिएपछि सडकको पहिरो पन्छाइएकाे छ । पहिरो हटाउन चार वटा डोजर र स्काभेटर प्रयोग गरिएको थियो भने ट्रिपरले माटो तथा ढुङ्गा बाेकेका थिए । बाटाे एकतर्फी रूपमा मात्र खुलेकाले पानी परे समस्या हुने भन्दै साबधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले अनुराेध गरेकाे छ । पहिराेले डुम्रेका तीन वटा घर समेत पुरिएका थिए ।
पाल्पा । नुवाकाेट जितगढी युद्धको अंग्रेजलाई पराजित गरी नेपाली फाैजले विजय हासिल गरेकाे सम्झनामा आज पाल्पाकाे सदरमुकाम तानसेनमा रणउजिरेश्वरी भगवतीको रथायात्रा निकालिंदै छ।
दुई शताब्दी लामाे परम्परालाई निरन्तरता दिदैँ काेभिड महामारीकाे निषेधाज्ञाका बीचमा भगवतीकाे प्रतिमूर्ति घुमाएर रथयात्रा गरिने कार्यक्रम रहेकाे छ । गत वर्ष पनि भगवती जात्रा संक्षिप्त गरिएकाे थियाे । तानसेन भगवती टोलस्थित श्री ७ रणउजीरेश्वरी भगवतीको आज २ सय १ औं संस्करणको रुपमा भगवतीको जात्रा निकालिने भएको हो। तर कोरोना महामारीका कारण यो वर्ष जात्रा भव्य नहुने भएको छ। कोरोनाको जोखिम रहेकाले सीमित व्यक्तिको उपस्तिथिमा मन्दिर परिसरमै रथयात्रा निकाल्ने तयारी भइरहेको छ। निजामती कर्मचारी, सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति र पत्रकारको सहभागिता रहने छ। सर्वसाधारण सहभागी हुने छैनन्।
भगवतीको रथ दिउँसो साढे १२ देखि १ बजेभित्र उठाउने साइत जुरेको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयाे । नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्ती वाचन गरेर रथयात्राको प्रारम्भ हुनेछ। तीनपटक मन्दिर घुमाएपछि प्रमुख जिल्ला अधिकारीले पूजा गर्नेछन् । त्यसपछि नेपाली सेनाका जिल्ला प्रमुखले गर्नेछन्। जिल्ला समन्वय समिति र तानसेन नगरपालिकाले पूजा गरेपछि पुनः रथलाई तीनपटक मन्दिर घुमाएर भित्र राखिने छ।
लुम्बिनी प्रदेश सरकारले पाल्पामा एक दिन सार्वजनिक बिदा घाेषणा गरेकाे छ । राजपत्रमा भगवती जात्राका दिन पाल्पा जिल्लाभर बिदा दिने उल्लेख छ ।
तानसेन । अविरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्किंदा १० वर्षीया बालिकाको मृत्यु भएको छ ।
तानसेन नगरपालिका-५ कैलाशनगरमा एकतले कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वषिर्या छोरी नैना दर्जीको मृत्यु भएको हो । रातको साढे २ बजे घर पछाडिको गारो भत्किएर पुरिंदा गम्भीर घाइते भएकी बालिकालाई उपचार गर्न मिसन अस्पताल तानसेनमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताउनुभयाे ।
पहिरोले सडक अवरुद्ध
भारी वर्षापछि पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ राजमार्गको एक दर्जन स्थानमा सडक अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-५ जोरधारा, तानसेन नगरपालिका-७ बर्तुङ, बगनासकाली गाउँपालिका-३ धैरेनी, बगनासकाली गाउँपालिका-४ शेरा, तिनाउ गाउपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
तानसेन-११ सम्मोबारीमा पहिरो जाँदा तानसेन-रिडी सडकखण्ड र रम्भा-३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ-रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लाका ग्रामीण सडकमा पनि पहिराे खसेकाे छ ।
माडीफाँट डुवानमा परेकाे छ । तिनाउ र छिसखाेला फुटेर पानी खेतमा पसेकाे छ ।
तानसेन । पाल्पा जिल्लाका सरकारी कार्यालय र दश स्थानीय तहले आर्थिक वर्ष २०७७\०७८ मा करिव २ अर्व ४० करोड रुपैँया फ्रिज गरेका छन् ।
संघ र प्रदेशको गरी कुल २ अर्व ३९ करोड ३७ लाख ६० हजार ९ सय ७ रुपैँया फ्रिज भएको छ । भने संघतर्फ १ अर्व ९९ करोड ८५ लाख ५६ हजार २ सय १५ रुपैँया फ्रिज भएको छ भने प्रदेशतर्फ ३९ करोड ५२ लाख ४ हजार ६ सय ९२ रुपैँया फ्रिज भएको छ ।
संघ र प्रदेशको गरी १४ अर्व ९७ करोड ४५ लाख ८६ हजार ९ सय ७९ रुपैंया बजेट विनियोजन भएकोमा १२ अर्व ५८ करोड ८ लाख २६ हजार ७२ रुपैँया खर्च गर्न सफल भएका छन् । संघतर्फ ११ अर्व ४० करोड २६ लाख ८ हजार ९ सय ७९ रुपैंयामध्ये ९ अर्व ४० करोड ४० लाख ५२ हजार ७ सय ६४ रुपैँया खर्च भएको प्रमुख कोष नियन्त्रक खेमराज घिमिरेले बताउनुभयो । खर्च रकममध्ये कालिगण्डकी करिडोरको कालोपत्रेअन्तर्गत १ अर्व २५ करोड २१ लाख ३ हजार ६ सय १३ रुपैँया भुक्तानी दिएको पनि समावेश छ ।
यसैगरी प्रदेशतर्फ ३ अर्व ५७ करोड १९ लाख ७८ हजार रुपैँयामध्ये ३ अर्व १७ करोड ६७ लाख ७३ हजार ३ सय ८ रुपैँया खर्च भएको छ । चालुतर्फको भन्दा पूँजिगततर्फको बजेट धेरै फ्रिज भएको छ । संघतर्फ ८२.४८ प्रतिशत र प्रदेशतर्फ ८८ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ । कार्यालयगत खर्चस्थिति निस्कन केही दिन लाग्ने प्रमुख काेष नियन्त्रक घिमिरेले बताउनुभयाे । संघतर्फ ३१ सरकारी कार्यालय र प्रदेशतर्फ बजेट १४ कार्यालय र १० स्थानीय तहले बजेट कार्यान्वयन गरेका हुन् ।
मदनपोखरा । तानसेन नगरपालिका ८ छापका युवाहरुले आयआर्जन, स्वरोजगारी, आत्मनिभरताको कार्यक्रम बिस्तार गर्न नगरपालिका प्रमुखलाई आग्रह गरेका छन् ।
तानसेन नगरपालिकाले छापमा आयोजना गरेको ‘जनताको घरमा मेयर’ कार्यक्रममा युवाहरुले नगरपालिका प्रमुखसँग यस्तो आग्रह गरेका हुन् । छाप निवासी अनिता मिथुन, केशव राना र नारायण मस्राङ्गीले कोभिडका कारण बेरोजगार भएका र विदेशबाट फर्केका युवाहरुलाई देशभित्रै काम दिन अनुरोध गर्नुभयो । कृषक रामबहादुर सिंह र बुद्धबहादुर पन्थले खोलामा पुल नहुँदा खेतमा जान परेको कठिनाई र गाउँमा बाँदर आंतकको समाधान गरिदिन आग्रह गर्नुभयो । गीता सिंह ठकुरी र लक्ष्मी थापाले जनजातिलाई ६० वर्षमा वृद्धभत्ता नदिने कारण र इसिडिका कर्मचारीलाई श्रम ऐनअन्तर्गतको तलव नदिनुका कारण के हो प्रश्न गर्नुभयो । संस्कृतिप्रेमी सोमनाथ अर्यालले छापमा कृषकका घरमा होमस्टे कार्यक्रम सञ्चालन गरिदिन आग्रह गर्नुभयो । स्थानीय सरकारले गाउँघरका जग्गालाई बैंकले धितो नमान्ने र ऋण नपाउने अवस्थाको अन्त्य गर्नुपर्ने जनताको सुझाव थियो ।
उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, विभिन्न शाखाका प्रमुखहरुलाई लिएर जनताको घरघरमा पुग्नुभएका नगरपालिका प्रमुख अशोककुमार शाहीले स्थानीय जनताका गुनासा सुनेपछि जनताको जीवनमा परिवर्तन ल्याउने कार्यक्रम बिस्तार गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले युवा स्वरोजगार, महिला जागरण, दलित उत्थान, स्वास्थ्य विमा, छोरी शिक्षा जस्ता कार्यक्रमको नासो सुम्पन आएको बताउँदै जनताको जीवन बदल्ने कार्यक्रम बिस्तार गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी पाठकले निर्वाचनपछि मोटरबाटोको स्तरोन्नती, स्वास्थ्य इकाईको स्थापना, कृषि र पशुपालनमा सहयोग जस्ता कार्यक्रम सञ्चालन भएको र अब के के आवश्यकता छ बुझ्न आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले सेवा प्रवाहमा जनताको मूल्यांकन कस्तो छ र अब गर्नुपर्ने काम के छन् भनेर समीक्षा गर्न जनताको घरमा मेयर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा भूमि सम्बन्धी समस्या आयोग पाल्पाका अध्यक्ष एकप्रसाद भण्डारी, हेफर इन्टरनेशनलका अधिकृत अनन्त सिलवाल, ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीला कार्की र विभिन्न शाखा प्रमुखहरुले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमले तानसेन मोडल स्थापित गरेको बताउनुभयो ।
नगरपालिकाले छापका कृषि समूहलाई मकै छोडाउने मशिन, गहुँ कोदो छाट्ने मेशिन, बीउ बिजनहरु र औषधीहरुसमेत वितरण गरेको थियो । तानसेन नगरपालिका वडा नं. ८ का अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।
पाल्पा – २ भाद्र – क्यान्सर पिडित ईस्मा गाउँपालिका वडा नं. २ गुल्मीकी जुमादेवी नेपालीलाई पाल्पा सार्की परिवारले आर्थिक सहयोग गरेको छ ।
दुई वर्ष अगाडि स्तन क्यान्सर र अहिले पुनः क्यान्सरले सिकिस्त हुनुभएकी नेपालीलाई पाल्पा सार्की परिवारले आर्थिक सहयोग गरेको हो । जुमादेवी रोगले थला पर्दा उहाँका श्रीमान धानबहादुर नेपाली उपचारका निम्ति भौंतारिनुभएको छ । लाखौं रुपैंया खर्च भएपनी अझै रोग निको हुन नसकेको परिवारले बताएको छ ।
भारतको एसियन हस्पिटलमा उपचाररत आमाको उपचारका निम्ति छोरी भावना नेपालीले सबैसँग सहयोगको अपिल गर्नुभएको छ । नेपालीले घरको अवस्था झन् झन् बिग्रँदो भएको भन्दै आमालाई सबैले आफ्नै आमा सम्झिएर बचाइदिन अनुरोध गर्नुभयो ।
पाल्पा सार्की परिवारले जुमादेवीको उपचारका लागी १८ हजार ३ सय ४५ रुपैंया सहयोग गरेको हो । परिवारका सल्लाहकार विजय बौडेलले छोरी अस्मिता नेपालीलाई सहयोग रकम हस्तान्तरण गर्दै विरामीको स्वास्थ्यलाभको कामना गर्नुभयो ।
सानो पहाडको घर, चार सन्तानको ठुलो जिम्मेवारी, किसानी पेसाले सन्तानको पढाइ लेखाइ । नेपालीको परिवारले संघर्षको बाटोमा आफ्ना अनेक पीडा लुकाएरै घर चलाइरहेको भन्दै पाल्पा सार्की परिवारकी सल्लाहकार जमुना हिताङले एकपछि अर्को गर्दै लगातार आएको दुःखले उहाँको परिवारलाई निकै अप्ठ्यारो परेको बताउनुभयो ।
१५ देखी १६ लाख रुपैंयासम्म लाग्ने बताइएको उपचार खर्च जुटाउन नसक्दा जुमादेवीको जीवन नै यतिबेला सङ्कटमा छ । थोरै थोरै रकम भएपनी दुखमा परेको परिवारको घाउमा मल्हम लगाउने प्रयास गरेको पाल्पा सार्की परिवारका अध्यक्ष गोपाल हिताङले बताउनुभयो ।
तानसेन । तानसेन नगरपालिका ७ सालघारीमा आज विहान विङगर भ्यान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट कुन्सरेतर्फ आउँदै गरेको लु १ ज २९९२ नम्बरको भ्यान विहान पौने १० बजे दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । घाइते हुनेहरुमा तानसेन ७ कुन्सरे निवासी वर्ष २९ को नरबहादुर कुमाल, २८ वर्षिय बिक्रम गैरे, ४३ वर्षिय प्रेमबहादुर बाकाबल, ३२ वर्षिय हुमबहादुर सारु, ३३ वार्षिय बिक्रम नेपाली, २१ वर्षिय अर्जुन पल्ली, ३० वर्षिय सोमबहादुर न्यौपाने, २८ वर्षिय योगेश सारु, ३३ वर्षिय पवनकुमार गाहा, ३५ वर्षिय सन्तोष गैरे र तानसेन ६ बस्ने ३३ वर्षिय चालक सोम राना हुनुहुन्छ ।
घाइतेहरु सबैको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते ११ मध्ये १ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गाडी सडकबाट १५ मिटर तल खसेको छ ।