पाल्पा । हराउँदै गएको पञ्चेबाजा संरक्षणमा पाल्पाको पूर्व खोलाका युवाले अभियान नै चलाइरहेका छन् । मौलिक संस्कृतिसँग जोडिएको बाजाको संरक्षणमा उनीहरूले न्यू जल्पाली पञ्चे बाजा समूह गठन गरेर विभिन्न गतिविधि सञ्चालन गरिरहेका हुन् ।
गाउँदेखि सहर बजारसम्म नै विवाह, व्रतबन्धलगायतका विभिन्न शुभ कार्यमा विदेशी बाजा, डेक र डिजेको प्रभुत्व बढ्दै जाँदा पञ्चेबाजा पनि हराउँदै जान थालेपछि पञ्चेबाजा नै किनेर युवाले बाजा बजाउने र बाजा सिकाउने काम गरिरहेका छन् ।
५ वर्ष अघि गाउँका १५ जना युवा मिलेर गठन गरेको यस समूहले सुरुमा १०/१० हजार रुपैयाँ उठाएर पञ्चेबाजाको सेट किनेको र समूह नै बनाएर सामूहिक रूपमा बाजा बजाउने कार्यमा लागेको बाजा समूहका अध्यक्ष रणवीर बराल मगरको भनाइ छ ।
‘पुरानो बाजा हिजोआज गाउँमा बज्न छाडेका छन्, हिजो बज्ने गरेका ती बाजाले समाजको कला, संस्कृतिको महत्त्व ठुलो राख्दथ्यो’, उहाँले भन्नुभयो ‘हिजोआज भने महत्त्व नबुझ्दा समाजबाटै लोप हुन पुगेको पञ्चेबाजा बाजा संरक्षण अभियानमा जुटेका छौँ ।’
यो बाजा समूहले लोप हुन लागेको संस्कृतिको संरक्षण मात्र गरिरहेको छैन, बाजा बजाएरै राम्रो आम्दानी र सामाजिक काम पनि गरिरहेको छ । अहिलेसम्म समूहले ७ लाख रुपैयाँ आर्थिक कोष जम्मा गरी कोष बाट मिर्गौला पीडित र दुखमा परेका हरूलाई सहयोग गरेको अध्यक्ष बराल मगरले बताउनुभयो ।
यो बाजा समूह पाल्पा, रुपन्देही, स्याङ्जा, नवलपरासी,नवलपुरलगायत जिल्लाका ठाउँ ठाउँमा बाजा बजाउन पुगिसकेको छ । समय, श्रम र दूरीका आधारमा १२ देखि ४० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको बाजा समूहका सदस्य मोहनसिंह हिस्कीमगरले बताउनुभयो ।
लोप हुँदै गएको पञ्चेबाजाको संरक्षण गर्न तथा नयाँ पुस्तालाई सिकाउन पनि पाएकोमा यो समूहका सदस्यहरू खुसी छन् । अझ, बाजा बजाएरै राम्रो रकम बचत पनि गर्न सकेकोमा खुसी दोब्बर भएको छ । समुदायका राम्रा परम्परा र अभ्यास जोगाउन तथा त्यसलाई आर्जनको स्रोत बनाउन स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बाजा समूहका सदस्य हिम बहादुर हिस्कीको भनाइ छ ।
नयाँ पुस्तालाई पनि बाजा बजाउने सीप सिकाउने काम गरिरहेको छ ।
समूहमा पालैपालो विभिन्न थरीका बाजा बजाउने र नयाँ पुस्तालाई पनि सीप सिकाउने गरिन्छ । पञ्चेबाजाको सबै बाजा सिकेर बजाउन पाउँदा आफूलाई निकै खुसी लागेको समूहका १९ वर्षीय सदस्य डिलबहादुर हिस्की मगरको अनुभव छ ।
गाउँ घरका विभिन्न चाडपर्व, विवाह लगायत कार्यमा पञ्चे बाजाको माग आउने क्रम बढ्दै गएको छ तर जनशक्तिको भने अभाव छ । पछिल्लो समय कतै महिला त कतै युवाले पञ्चेबाजा संरक्षणका लागि रचनात्मक तरिकाले काम गरिरहेका छन् ।